अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १० को नवौं वडा भेला भव्य रूपमा सम्पन्न भएको छ। वडाध्यक्ष रवीन्द्र शाहीको अध्यक्षतामा आयोजित भेलामा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि तथा नगर उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथि रूपमा उपस्थित थिए।


वडा सदस्य शेरबहादुर तामाङले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाहरूको विवरणसहित आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरे। गोदावरी नगरपालिकाको बजेट सिलिङअनुसार वडा नं १० का लागि कुल ९३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जनसेवाको सन्दर्भमा वडा कार्यालयले चालु वर्षभित्र ५१२ जनालाई नेपाली नागरिकताको सिफारिस, १८९ जनाको जन्म दर्ता, ४८ जनाको मृत्यु दर्ता, ७१ जनाको विवाह दर्ता गरेको छ। बसाइँ सराइको हकमा ४३ जना वडामा आएको तथा १२ जना वडाबाट अन्यत्र सरेको तथ्याङ्क प्रस्तुत गरिएको छ। वडा कार्यालयले हालसम्म १६ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ। जुन गत आ व को भन्दा १० प्रतिशतले बढी हो ।

समाजमा अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले वडाले स्थापना कालदेखि नै मदिरा विक्रि वितरणमा प्रतिबन्ध लगाएको जानकारी गराउँदै, हालसम्म कुनै पनि मदिरा पसल दर्ता नगरिएको उल्लेख गरिएको छ।
बजेट विनियोजन अनुसार भौतिक पूर्वाधार विकासमा ४३ लाख ८५ हजार, सामाजिक विकासमा २७ लाख ७५ हजार, आर्थिक विकासमा १३ लाख ९५ हजार, विपद् व्यवस्थापन तथा मागमा आधारित कार्यक्रममा १ लाख ७५ हजार तथा सार्वजनिक सेवा प्रवाह र कार्यालय सञ्चालनमा ६ लाख रुपैयाँ छुट्याइएको छ।
नीति तथा कार्यक्रमले विभिन्न क्षेत्रहरूमा समावेशी विकासको अवधारणालाई प्राथमिकता दिएको छ। सिचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, सांस्कृतिक तथा पर्यटन, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
साथै, सडक तथा यातायात व्यवस्था, शहरी विकास, सूचना तथा सञ्चार, जलविद्युत तथा वैकल्पिक ऊर्जा, स्थानीय पूर्वाधार, वन तथा भू–संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, जलजन्य प्रकोप नियन्त्रण, मानव संसाधन विकास, संस्थागत क्षमता अभिवृद्धि, स्रोत परिचालन, स्थानीय योजना तथा तथ्याङ्क संकलनमा पनि सन्तुलितरूपमा बजेट विनियोजन गरिएको छ।
भेलाले योजनाको पारदर्शिता, कार्यान्वयन र नागरिक सहभागिता सुनिश्चित गर्दै विकासलाई स्थानीय आवश्यकता र प्राथमिकताअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। विभिन्न दलहरूका नेता कार्यकर्ताहरूको उल्लेखीय सहभागिता रहेको थियो।