
धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर बि.क.ले जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षण तथा अनुगमन गरेका छन् । प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि बि.क. बाजुरा जिल्ला प्रहरीको अनुगमनमा पुगेका हुन् ।




निरीक्षण तथा भ्रमणको सिलसिलामा उनले जिल्ला प्रहरी कार्यालय बाजुराको आन्तरिक तथा बाह्य निरीक्षण गरेका छन् । यसका साथै विभिन्न शाखाहरूबाट सम्पादित कार्य विवरणको बारेमा समेत उनले जानकारी लिए ।





जिल्लाको वर्तमान शान्ति, सुरक्षाको अवस्था र चुनौतिका बारेमा प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर बि.क. समक्ष जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले प्रस्तुतिकरण गरेका थिए ।
सम्बोधनको क्रममा डिआइजी बि.क ले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई मन, वचन र कर्मले सदा समर्पित भई देश र जनताको सर्वोपरि हितलाई उच्च राखी जनताको जीउ धनको सुरक्षा, गर्न निर्देशन दिए ।
यसका साथै मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै नागरिक मैत्री प्रहरी सेवा प्रदान गरि समाजमा घट्ने विभिन्न प्रवृत्तिका आपराधिक घटनाहरूलाई न्यूनिकरण गर्दै सभ्य र सुरक्षित समाज निर्माण गर्ने संकल्पलाई सार्थक तुल्याउन प्रहरीले अग्रणी भूमिका निर्वाह गर्न उनले आवश्यक निर्देशन दिए ।