कञ्चनपुरको सुक्खा बन्दरगाह निर्माणस्थलबाट १०९ रूख चोरिए

कञ्चनपुर- सुक्खा बन्दरगाह निर्माण हुने भनिएको दोधारा चाँदनी नगरपालिका–१ को गौरीशंकर सामुदायिक वनमा रूख कटान सुरु गर्नु अघि नै एक सय भन्दा बढी रूख चोरीतस्करी भएको पाइएको छ । सुक्खा बन्दरगाह निर्माण स्थलमा रूख कटानका लागि छपान गरिएका (टाँचा लगाइएका) १ सय ९ रूख चोरी भएको पाइएको हो । 

उक्त सामुदायिक वनमा अधिकांश पोल साइजका र थोरै ठूला रूख छन्, पोल साइज र ठूला गरेर छपान गरिएका रूख चोरी भएको पाइएको हो,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘काटनका लागि छपान गरिएकै रूख चोरी भएका छन् ।’

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

सुक्खा बन्दरगाह निर्माणका लागि गौरीशंकर सामुदायिक वनको ४२ हेक्टरमा रहेका १ हजार ७ सय २ रूख कटान गर्नुपर्ने थियो । त्यहीअनुसार छपान गरिएस्को संरक्षण अधिकृत वाग्लेले जनाए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कटान गर्नुपर्ने रूखको प्रमाणित गर्नुअघि गत कात्तिकमा सबै रूख गणना गरिएको थियो । वाग्ले नेतृत्वको अध्ययन टोलीले प्रतिवेदन बुझाएपछि कटान आदेश दिएको थियो । रूख चोरीतस्करी भएपछि निकुञ्जले सामुदायिक वनका पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा सामुदायिक वनका पदाधिकारीले सीमा क्षेत्रको वन भएका चोरीतस्करी हुने, मसानघाट पनि नजिकै भएकाले अन्तिम संस्कारका लागि पनि रूख कटान गरिने र हात्ती, बाघजस्ता वन्यजन्तु आउने भएकाले रातीको समयमा गस्ती गर्न नसक्दा समस्या निम्तिएको बयान दिएका छन् ।

बर्खामा खोलाले पनि बगाएर लग्यो, केही चोरी पनि भयो,’ सामुदायिक वनका अध्यक्ष दामोदरप्रसाद भट्टले भने, ‘निकुञ्जले अनुमगन गर्दा छपान गरिएको रूख भेटिएनन्, ती चोरी भएको पाइयो ।’ सीमा क्षेत्रको वन भएकाले रातिको समयमा चौकीदारी गर्न नसकिएको उनको भनाइ छ ।

सुक्खा बन्दरगाहका लागि सुरुमा ४२ हेक्टरमा १ हजार ७ सय २ रूख कटान गर्नुपर्ने थियो । यस मध्ये १ सय ९ रूख कटान भएपछि अब १ हजार ५ सय ९५ रूख कटान गर्नुपर्नेछ । अहिले रूख कटानका काम निकुञ्जकै कर्मचारीको रोहबरमा भइरहेको छ । कटान गरिएको काठ निकुञ्जकै पिपरियामा घाटगद्दी भइरहेको छ । गौरीशंकर सामुदायिक वनबाटै चोरीतस्करी भएको काठसहित हालै दुई जना पक्राउ परेका छन् ।

उनीहरूबारे अनुसन्धान भइरहेको संरक्षण अधिकृत वाग्लेले बताए । दोधारा चाँदनीकै दुई जनालाई ३२ क्युबिक फिट काठसहित पक्राउ गरिएको हो । उनीहरूले गौरीशंकर सामुदायिक वनबाट चोरी गरेको बयान दिएको वाग्लेले जनाए । एक महिनाअघि पनि दोधारा चाँदनीकै एक जनालाई काठसहित पक्राउ गरिएको थियो । उक्त काठ पनि गौरीशंकर सामुदायिक वनकै भएको बयानबाट खुलेको छ । कान्तिपुरबाट

Loading...