सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण

डडेल्धुरा- सुदूरपश्चिमका एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले आजदेखि डडेल्धुरामा प्रशिक्षण आयोजना गरेको हो ।

प्रशिक्षण शुभारम्भ गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गरे । उनले प्रदेश सरकारले चाँडै सञ्चार विधेयकलाई निष्कर्षमा पुर्याउने गरी तयारी रहेको र त्यसले यहाँका सञ्चार समस्या व्यवस्थापनमा सहज हुने बताए । ‘सञ्चार विधेयकलाई चाँडै पास गर्नका लागि पत्रकारहरूसँग छलफल गरिरहेका छौँ, महासङ्घलाई पनि यसमा छलफल गरी रचनात्मक सुझाव दिन आग्रह गर्दछु’, मन्त्री सार्कीले भने ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले एफएम रेडियो सङ्कटमा परिरहेकाले नयाँ प्रविधिसँगै अघि बढ्नु पर्नेमा जोड दिए । नेपाल र विशेष गरी सुदूरपश्चिमको भौगोलिक अवस्थाका कारण अझै पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले यस क्षेत्रको व्यवस्थापनका लागि सरकारको सहयोग जरुरी रहेको बताए ।

प्रशिक्षणमा प्रदेशका नौ जिल्लाबाट रेडियो प्रतिनिधिहरूको सहभागिता रहेको र यसले रेडियो व्यवस्थापन तथा बदलिँदो अवस्थामा पत्रकारिता बारे प्रशिक्षण दिइने महासङ्घ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले बताए ।

Loading...