कैलालीको गौरीफन्टा नाकामा चेकजाँचमा कडाइ

धनगढी- भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ। भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाकामा चेकजाँचमा कडाइ गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले गौरीफन्टामा आवतजावत गर्ने सबै नागरिकहरू माथि कडाइका साथ निगरानी थालेको छ। सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र तथा भारतीय आधार कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने बताए।

Navadurga sun

‘सामान्य समयमा भन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको छ,’ डीएसपी धामीले भने। उनका अनुसार युद्धको संवेदनशीलता र सुरक्षाको दृष्टिले सीमा क्षेत्रमा जोखिम न्युनिकरण गर्न चेकजाँच बढाइएको हो। नेपाल प्रहरीले समेत सीमामा निगरानी तीव्र पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले गौरीफन्टा सहितका भारतसँग जोडिएका सबै नाकाहरूमा कडाइ गरिएको बताए। ‘हामीले चेकजाँच बढाउनुका साथै चोरी, तस्करीजस्ता गैरकानुनी गतिविधिहरू नियन्त्रणमा समेत ध्यान दिएका छौं,’ प्रवक्ता सिंहले भने।

हालको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ। यसैबीच प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...