कैलाली- पुनर्वास नगरपालिका–६, टाउन बजारमा अवस्थित टाउन हस्पिटल प्रालि ले छोटो समयमा नै स्थानीयवासीको मन जित्न सफल भएको छ। स्वास्थ्य क्षेत्रमा लामो अनुभव संगालेका पवन पन्तको लगानीमा करिब तीन वर्षअघि सञ्चालनमा आएको हस्पिटल अहिले पुनर्वास मात्र नभई कैलाली, कञ्चनपुर लगायतका आसपास क्षेत्रका सर्वसाधारणको प्रमुख रोजाइ बन्दै गएको छ।
१० सैयाको क्षमतासहित सञ्चालनमा रहेको यो हस्पिटलबाट हालसम्म १५ हजारभन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्। सस्तो, गुणस्तरीय सेवा र अनुभवी चिकित्सकको उपस्थितिका कारण यहाँको सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दो छ।


हस्पिटलले आकस्मिक सेवा, स्त्री तथा प्रसूति रोग, बालरोग, मिर्गौला, मधुमेह, मुटु रोग, सामान्य चिकित्सा, ल्याब परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रासाउन्ड, डेंगु परीक्षण लगायतका सेवा प्रदान गर्दै आएको छ। यस्तै, प्रत्येक शनिबार विभिन्न विशेषज्ञ डाक्टरहरूमार्फत विशेष चेकजाँच सेवासमेत प्रदान हुँदै आएको छ, जसले गर्दा बिरामीहरूले राजधानी वा सुदूर अस्पताल जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
प्रबन्ध निर्देशक पवन पन्तका अनुसार, हस्पिटलको सुरुवात सीमित सेवाबाट भएपनि हाल जनशक्ति र सेवा दुवै क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ। “स्थानीय स्तरमै गुणस्तरीय, सहज र जनमैत्री सेवा दिने लक्ष्यसहित सञ्चालन गरेका हौं। सेवाग्राहीको साथ र विश्वासले छोटो समयमै हस्पिटल यो स्थानमा पुग्न सफल भएको छ,” उनले भने।
स्थानीय व्यवसायी सुरज चौधरी भन्छन्, “पहिला सामान्य समस्या हुँदा पनि धनगढी वा भारतसम्म जानुपर्थ्यो, तर अब गाउँमै गुणस्तरीय सेवा सुलभ शुल्कमा पाउँदा हामी सन्तुष्ट छौं।”
हस्पिटल प्रशासनका अनुसार, निकट भविष्यमा शैयाको संख्या १५ पुर्याउने, नयाँ विशेषज्ञ सेवा थप्ने र आधुनिक प्रविधि भित्र्याउने योजना पनि बनाइएको छ।टाउन हस्पिटल प्रालि ले संचालनको छोटो अवधिमै जनताको विश्वास जित्दै पुनर्वास क्षेत्रमा स्वास्थ्य सेवाको एक विश्वसनीय केन्द्रका रूपमा आफूलाई स्थापित गरिसकेको छ।

