धनगढीको होल्डिङ सेन्टर जीर्ण बन्दै

धनगढी- धनगढीको त्रिनगर स्थित मोहना नदी किनारमा रहेको त्रिनगर सीमा नाकानजिक घना वन क्षेत्रको बीचमा कैयौं सरकारी भवन छन् भन्ने धेरैले अनुमान नै गर्दैनन् । निलो रङका जस्ताले छाएका आकर्षक तर प्रयोगविहीन भएर रङ खुइलिँदै गएका भवन रहेको त्यस क्षेत्रमा चारैतिर तारबार गरिएको छ ।

मुलगेटमा सेनाको चौबिसै घण्टा पहरा छ । त्यस क्षेत्रमा करिब चार वर्षअघि २८ करोड ८१ लाख लागतमा क्वारेन्टिन कक्ष, चिकित्सक कक्ष, शौचालय, भान्सा घरसहित ५० वटा ब्लक निर्माण गरिएका छन् । तर ती सबै प्रयोगविहीन छन् । त्यहाँ १४ वटा क्वारेन्टाइन ब्लकभित्र तीन सय शय्या छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

होल्डिङ सेन्टर रहेको क्षेत्र धनगढी उपमहानगरपालिका–३ का वडाअध्यक्ष राजबहादुर ऐर सरकारले करोडौं खर्च गरेर बनाएको संरचना संघ सरकारले तत्काल स्थानीय वा प्रदेश सरकारलाई हस्तान्तरण गर्नु जरुरी रहेका बताउँछन् । ‘स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक पर्ने अक्सिजनलगायत सम्पूर्ण पूर्वाधार त्यहाँ उपलब्ध छन्,’ वडाध्यक्ष ऐरले भने, ‘प्रसूति केन्द्र वा जेष्ठ नागरिक वा बालबालिका उपचार केन्द्र सञ्चालन गर्न सकिन्थ्यो । त्यो पनि भएन भने शिक्षालय बनाउन पाए पनि हुन्थ्यो ।’ यस्तै प्रयोगविहीन अवस्था हुने हो भने एकरदुई वर्षमा कामै नलाग्ने अवस्था हुने उनको भनाइ छ ।

स्थानीय तह र प्रदेशले आफ्नो मातहत सञ्चालन हुनुपर्ने लबिइङ गरिरहेका भए पनि संघ सरकारले उनीहरुलाई हस्तान्तरण गरेको छैन । कैलाली जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले ०७८/७९ मा २८ करोड ८१ लाख १२ हजार खर्चेर निर्माण गरिएको होल्डिङ सेन्टर कसलाई सुम्पिने भन्ने टुंगो नलागेको बताए । उनका अनुसार सुरुदेखि नै होल्डिङ सेन्टरको हेरचाह भने अत्तरियास्थित सेनाको भवानी दल गण बोराडाँडीले गर्दै आएको छ ।

सुदूरपश्चिमको प्रमुख सीमा नाका गौरिफन्टाबाट स्वदेश फर्किनेलाई ०७८ असार ३ गते ठेक्का सम्झौता गरेर उक्त होल्डिङ सेन्टर निर्माण सुरु गरिएको थियो । ०७९ जेठमा होल्डिङ सेन्टर तयार हुँदासम्म महामारी घट्न थालिसकेकोले होल्डिङ सेन्टरको संरचना प्रयोगमै आउन सकेन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा २९ करोड ९९ लाखमा ५० बेड क्षमताका २२ वटा ठूला संरचना, ३ वटा भान्सा घर र १२ डाइनिङ हल तथा २२ वटा शौचालय गरी ५९ वटा संरचना निर्माण गरिएका छन् । भवनभित्र बेडदेखि कुर्सी, टेबुल पनि राखिएको छ । तर तिनको रेखदेख गर्ने समेत कोही छैन । ‘ठूलो संरचना बनेको छ, तर प्रयोगविहीन छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने, ‘यो सञ्चालन गर्ने विषयमा अन्यौल नै छ ।’

Loading...