बाजुरा- बाजुराको बडिमालिका क्याम्पसका प्राध्यापक नरेन्द्र थापा मृत अवस्थामा फेला परेका छन् ।



बुधवार साँझ उनी बडिमालिका नगरपालिका–४ स्थित साफे–मार्तडी सडक खण्डको छेउमा रहेको नालीमा घोप्टो परेको अवस्थामा भेटिएका हुन् ।



बुढीगंगा नगरपालिका–६, सायल घर भएका ३८ वर्षीय थापा बिहान नियमित कक्षा लिन क्याम्पस गएका थिए । साँझ करिब साढे ६ बजे क्याम्पसदेखि करिब ५०० मिटर दूरीमा उनको शव फेला परेको हो ।
शवको अवस्थाबाट उनीमाथि हमला भएको आशंका गरिएको छ । थापाको दुवै आँखा गहिरो चोट सहित फूटेको, टाउको र अनुहारमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ ।
स्थानीयहरू शवको अवस्था देखेर स्तब्ध छन् । थापा घरपरिवारबाट टाढा, एक्लै बस्दै आएका थिए । उनकी श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा शिक्षिका हुन् । एक छोरा र एक छोरीका पिता थापा सरल स्वभावका, अध्यापनप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्थे ।
घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ । थप अनुसन्धानका लागि बिहीबार बिहान उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।




