अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७, लालपुर स्थित श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिर परिसरमा सुरु भएको श्रीमद्भागवत पितृ मोक्ष सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले महायज्ञको आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।



उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भट्टले भने, “धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अतिमै महत्वपूर्ण यस पवित्र स्थलमा सुरु भएको महायज्ञले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताएका छन् ।” उनले भने, “गोदावरी नगरपालिका आफैँमा पवित्र धार्मिक तीर्थस्थलको नामबाट नामाकरण गरिएको हो । हामीले धर्म र संस्कृति जोगाउन मात्र होइन, यहाँ आध्यात्मिक पार्क निर्माणको अभियानलाई पनि अगाडि बढाउँदैछौँ । पालिका सधैं यस्तो पुण्यकार्यमा साथ दिन तत्पर छ ।”
नगर प्रमुख भट्टले महायज्ञ जस्ता कार्यक्रमहरूले धार्मिक चेतना फैलाउने, सामाजिक एकता बलियो बनाउने र भविष्यका पुस्तालाई धर्म र संस्कृतिप्रति प्रेरित गराउने काम गर्ने विश्वास व्यक्त गरे ।
“मन्दिर क्षेत्रको सर्वाङ्गीण विकासका लागि यस्ता आयोजनाहरू अत्यन्त आवश्यक छन्,” उनले भने, “गोदावरी नगरपालिकाले आवश्यक सहयोग गर्दै जानेछ । हाम्रो चाहना यो क्षेत्र आध्यात्मिक पर्यटन केन्द्रको रूपमा चिनियोस् ।”
कार्यक्रममा पूर्वसन्ध्यामा भव्य कलश यात्रा निकालिएको थियो भने, प्रमुख वाचकका रूपमा अच्युत शरण महाराज (धिताल) र यज्ञाचार्य पण्डित हरेन्द्र प्रसाद जोशी रहेका छन् । साथै बाल संस्कार अभियन्ता समीक्षा दास गिरीको विशेष सहभागिता पनि रहने आयोजक समिति विष्णु राज जोशीले जानकारी दिए ।