धनगढी- धनगढी उपमहानगरपालिका–४ मा रहेको नवजीवन अस्पतालले सेवा विस्तार गर्दै विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालले हार्मोन रोग, मानसिक स्वास्थ्य, र नाक–कान–घाँटी सम्बन्धी उपचारका लागि नयाँ सेवा सञ्चालनमा ल्याएको छ । साथै, स्त्री तथा प्रसूति रोग विभागमा चिकित्सकको सङ्ख्या पनि वृद्धि गरिएको छ ।


अस्पतालमा नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम पनि सञ्चालनमा रहेको छ । पहिलेबाट नै प्रस्तुति विशेषज्ञ डा. जयराम केसीले सेवा दिइरहेका अस्पतालमा हालै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वरुण राई नियुक्त भएका छन् । सेवाग्राहीको चाप बढेसँगै यो नियुक्ति गरिएको अस्पतालले जनाएको छ ।
त्यसैगरी, डा. कृष्ण ऐर ले हार्मोन (एन्डोक्राइन) रोग विशेषज्ञ सेवा सुरु गरेका छन्। उनले मधुमेह, गर्भकालीन मधुमेह, थाइराइड, पाराथाइराइड ग्रन्थिको समस्या, महिनावारीमा गडबडी, हार्मोनको असन्तुलन, मोटोपन, र हार्मोन प्रतिस्थापन जस्ता समस्याको परीक्षण तथा उपचार सेवा प्रदान गरिरहेका छन् ।
मनोचिकित्सक डा. अनुप देवकोटा को अगुवाइमा अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा पनि सुरु गरिएको छ। उनले तनाव, चिन्ता, निद्रा नलाग्ने, आत्महत्याको प्रयास, तथा बालबालिकामा देखिने असामान्य व्यवहारलगायत समस्या भएकालाई औषधि र मनोवैज्ञानिक उपचार प्रदान गरिरहेका छन् । आत्महत्या प्रयास गर्ने बिरामीलाई आपतकालीन सेवा समेत दिइने उनले बताएका छन् । सुदूरपश्चिममा मनोरोगीहरूको सङ्ख्या उल्लेख्य भएको पनि डा. देवकोटाले बताएका छन् ।
नाक, कान र घाँटी (ENT) रोग विशेषज्ञ डा. इन्द्र उपाध्यायले अस्पतालमा पहिलेदेखि नै सेवा दिँदै आएका छन् । उनले कान दुख्ने, पानी आउने, सुन्न नसक्ने, घाँटी दुख्ने, एलर्जी, टन्सिल, सास फेर्न गाह्रो हुने जस्ता लक्षणको उपचार गर्दै आएका छन् । नवजीवन अस्पतालको सेवा विस्तारले सुदूरपश्चिमका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवा पाउन सहज भएको छ ।