संस्कार क्रिकेट लिगः सुदूरपश्चिम होस्टेल र वेष्टर्न एकेडेमी विजयी

धनगढी- धनगढीमा जारी ‘टिम ११ संस्कार क्रिकेट लिग टि–२० खुल्ला क्रिकेट प्रतियोगीता’ मा आज भएका खेलमा सुदूरपश्चिम होस्टेल र नेपाल वेष्टर्न एकेडेमी विजयी भएका छन् ।

पहिलो खेलमा सुदूरपश्चिम होस्टेलले क्याम्ब्रिज स्कुललाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्यो । सुदूरपश्चिम होस्टेलले दिएको १६२ रनको लक्ष्य पछ्याएको क्याम्ब्रिज १४ दशमलव ५ ओभरमा ६८ रनमा समेटियो । उसका लागि रविन रावलले २२ र प्रकाश माझीले १४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । सुदूरपश्चिम होस्टेलका निरज ऐर र सौर्य श्रेष्ठले दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम होस्टेलले २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो । उसका लागि विशाल बिष्टले ३८, अशोक बिष्टले २३ तथा राजेश ऐर, राजु रिजाल र दीपक चन्दले समान १७/१७ रन बनाए । क्याम्ब्रिजका रवीन भण्डारी र दीपक शाहीले तीन/तीन विकेट लिए भने दीपेश जैशीले दुई विकेट लिए ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा नेपाल वेष्टर्न एकेडेमीले उत्तर त्रिशूल टिमलाई ३४ रनले पराजित गरेको छ । वेष्टर्नले दिएको १४१ रनको लक्ष्य पछ्याएको उत्तर त्रिशूल २० ओभरमा ११६ रनमा अलआउट भयो । उसका लागि विशाल विकले ४५ र विशाल खड्काले २७ रन बनाए । वेष्टर्नका सुनिल सिंहले चार, शाहीले श्रेष्ठले तिन र अविशेक कुँवरले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेष्टर्नले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो। उसका लागि शाहिल श्रेष्ठले ५० रनको अविजित पारी खेले । आर्यन दानपालीले ३८ रन बनाए । उत्तर त्रिशूलका अनुप छेडालले चार, विशाल विकले तीन र विशाल खड्काले दुई विकेट लिए ।

गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको संस्कार विद्याश्रम मण्टेश्वरी स्कुलको आयोजनामा सुरु भएको प्रतियोगीताको मुख्य प्रायोजक टिम ११ रहेको छ । वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १३ टोली सहभागी छन् । प्रतियोगीताको विजेतालाई नगद रु एक लाख ११ हजार र उपविजेतालाई रु ५५ हजार पाँच सय प्रदान गरिने प्रतियोगिताका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

Loading...