दुर्गालक्ष्मी दौडिन्छ हाप म्याराथन प्रतियोगिता सम्पन्न, रावत प्रथम

अत्तरिया- दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको ५०औं पार गरी ५१ बर्ष प्रबेश गरेको स्वर्ण महोत्सवको अवसरमा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था ‘पूर्व विद्यार्थी मञ्च, दुर्गालक्ष्मी माध्यमिक विद्यालय’ को आयोजनामा हाप म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले सिट्टी फुक्दै दौडको औपचारिक उद्घाटन गरेका थिए । प्रतियोगितामा ६० भन्दा बढी धावकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नरेन्द्र सिंह रावत प्रथम, करण रावल द्वितीय, र सामन्त सिंह ठगुन्ना तृतीय स्थान हासिल गर्न सफल भए । विजयी धावकहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रथम पुरस्कार २१ हजार १ सय ११, द्वितीय पुरस्कार ११ हजार १ सय ११ र तृतीय पुरस्कार ५ हजार १ सय ११ रहेको छ ।

म्याराथनले केवल खेलकुदलाई प्रवर्द्धन मात्र नभई सामाजिक एकता र स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिमा पनि योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताबाट संकलित रकम विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्ति, पुस्तकालय विस्तार, भौतिक पूर्वाधार सुधार तथा आपतकालीन राहत कोष स्थापनामा खर्च गरिनेछ ।
पूर्व विद्यार्थी मञ्चका अनुसार म्याराथन आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ, जसले विद्यालय र समाजबीचको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Loading...