गेटा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु

अत्तरिया- कैलाली स्थित गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ । मुटु रोग विशेषज्ञ डा. अजय भट्टको सरुवासँगै अस्पतालले यो सेवा औपचारिक रूपमा प्रारम्भ गरेको हो ।

गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार डा. भट्ट यसअघि सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत थिए । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो ।

डा. भट्टले मंगलबारदेखि ओपिडी सेवा सुरु गरेका छन् । सेवा सुरु भएसँगै अस्पतालमा दैनिक १० जना हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन् ।

डा. भट्टका अनुसार गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम (इको) जाँच सेवा उपलब्ध छ । उनले गेटामा निकट भविष्यमै क्याथ ल्याब सेवा सुरु गर्ने तयारी पनि भइरहेको जानकारी दिएका छन् ।

हाल सुदूरपश्चिम प्रदेशमा क्याथ ल्याब सेवा उपलब्ध छैन । सो सेवा सञ्चालनमा आएमा हृदयघात लगायत गम्भीर तथा आकस्मिक मुटु रोगीहरूको उपचारमा ठूलो राहत पुग्ने चिकित्सकहरूको भनाइ छ ।

Loading...