सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेश सभा प्रतिपक्षीको अवरोधका कारण बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आर्थिक लेनदेन सम्बन्धी अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका वनमन्त्री लक्ष्मण किशोर चौधरी माथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने माग गर्दै प्रतिपक्षी माओवादी, समाजवादी र राप्रपाका प्रदेश सभा सदस्यले अवरुद्ध गरेका हुन् ।

प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल सहितका सांसदले भारतको उत्तराखण्ड पुगेर त्यहाँका मुख्यमन्त्रीसँग छलफल गरेर फर्किएको विषयमा समेत प्रतिपक्षी सांसदले सरकारको धारणा माग गरे ।

प्रदेश सभा सदस्यले परराष्ट्र मन्त्रालयबाट वैदेशिक भ्रमणका लागि अनुमति लिए नलिएको सदनमा जवाफ दिनु पर्ने प्रतिपक्षी दलको माग छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले भने प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेर संसद्लाई बन्धक बनाउन खोजेको आरोप लगाउनु भएको छ । प्रदेश सभामा उठाइएका सवालहरूको जवाफ दिन खोज्दा पनि प्रतिपक्षीले नदिएको उहाँको भनाइ छ । मुख्यमन्त्री शाहले प्रतिपक्षी सँग छलफल गरेर छिट्टै सदन सुरु गर्ने  बताउनु भएको छ ।

Loading...