

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा पूर्व सूचना क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने तालिम आज (शनिबार) बाट सुरु भएको हो । महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजनामा भएको कार्यक्रममा दुई दिन सम्म बाढी पूर्वसुचना प्रणाली सम्बन्धि जानकारी तथ्यांक गुणस्तर सुधारका लगायतका विषयमा छलफल हुनेछ ।


तालिम उद्घाटन कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बढ्दो जलवायु परिवर्तनले गर्दा हिमनदीमा असर परेकाले त्यसलाई जोगाउन आवश्यक रहेको औल्याए । विश्व हिमनदी र जल तथा मौसम दिवसको अवसरमा तालिम आयोजना गरिएको उनले बताए ।




उनले पछिल्लो समय अटोमेटिक तरिकाले तथ्याङ्क सङ्कलनको काम हुने भए पनि जल तथा मौसम अवलोकनकर्तालाई पूर्व सूचना सँग जोड्न आवश्यक भएका क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको बताए । मौसम अवलोकन कर्ताले गलत तथ्यांक संकलन गर्दा एक्कीन मौसम पुर्वानुमान गर्न कठिन हुने बताए।
‘नेपालमा जल तथा मौसमको तथ्याङ्क सङ्कलन गर्न लागेको १०४ वर्ष भइसकेको छ’ उनले भने ‘अब तथ्याङ्क सङ्ग्रह गरेर मात्रै हुँदैन । तथ्याङ्कको आधारमा पूर्व सूचना दिन सक्नुपर्छ । जसका लागि जल तथा मौसम अवलोकनकर्ताको जिम्मेवारी फेरिन आवश्यक छ ।’ उनले जल तथा मौसम अवलोकनकर्ताको भूमिका जनतालाई विपद्को ज्ञान हस्तान्तरण गर्ने माध्यम पनि हुन आवश्यक रहेको बताए । मौसम अवलोकनकर्ताहरुल जिम्मेवार हुन आवश्यक रहेको उनले उल्लेख गरे ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार साहले अहिले तथ्याङ्क थन्किएको अवस्थामा भएकाले यसको सदुपयोग गर्न सही तथ्याङ्क सही समयमा लिन आवश्यक रहेको बताए । तालिम आइतबार सम्पन्न हुने छ ।
विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा भएको तालिममा सुदूरपश्चिम प्रदेशका जल तथा मौसम अवलोकनकर्ताका सहभागिता रहेको छ । तालिममा मौसमविद संजयकुरमार शाह, सरस्वती विष्ट, कौशलकिशोर चौधरी, अर्जुन भुषाल, सिंगल चौधरी, विरेन्द्रप्रसाद कुश्हवा, प्रकाश विक, राजिव झा लगातका व्यत्तिहरु सहजीकरण गरिरहेका छन् ।

