धनगढीमा जारी स्वरोजगार मेलाको प्रदेश प्रमुख मियाँद्वारा अवलोकन

अत्तरिया- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन् ।

प्रदेश प्रमुख मियाँले सबै स्टलमा पुगेर सीप सिक्दै गरेकाहरूसँग चुनौती र त्यसपछिको अवसरबारे पनि छलफल गरेका थिए । अनुभव साटासाट गर्दै प्रदेश प्रमुखले सबैलाई सीपलाई सदुपयोग गर्न र स्वरोजगार बन्न सुझाव दिएका थिए ।

रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरेका थिए । प्रदेश प्रमुख ज्यूले मेला फलदायी रहेको बताएका थिए । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराएकी थिइन्।

एक महिनासम्म सञ्चालन हुने स्वरोजगार मेलामा एक हजार ४० जनाले सीप सिकिरहेका छन् । २९ विधामा सीप सिकाइको काम भइरहेको उपप्रमुख बताइन् । सीप सिकिरहेकाहरू मध्ये अधिकांशको रोजगारीको व्यवस्था भइरहेको भन्दै उपप्रमुख रानाले प्रत्येक वर्ष उपमहानगरपालिकाले यस्तो रोजगार मेलाको आयोजना गर्ने बताइन् ।

Loading...