

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र वितरण गर्न १३ वटै स्थानीय तहमा कर्मचारी परिचालन गरेको छ ।




राष्ट्रिय परिचयपत्रका लागि आवेदन फारम भरेका नागरिकलाई वितरण गर्ने सबै पालिकामा टोली खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । जोशीका अनुसार परिचयपत्र लिएर स्थानीय तहमा पुगेका कर्मचारीले भोलि बुधबारदेखि वितरणको काम गर्नेछ ।


सर्वसाधारणले स्थानीय तहको कार्यालय तथा पालिकाले व्यवस्थापन गरेको ठाउँमा पुगेर परिचयपत्र प्राप्त गर्नेछन् ।
केही दिनसम्म परिचयपत्र वितरणको काम गरिनेछ । सो अवधिमा परिचयपत्र नबुझ्नेको कार्ड जिल्ला प्रशासन कार्यालयमै राखिनेछ । त्यसपछि सम्बन्धित व्यक्तिले प्रशासन कार्यालयमै पुगेर परिचयपत्र लिनु पर्नेछ ।

