

अत्तरिया- गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले अत्तरिया क्षेत्रका विभिन्न नगर स्तरीय परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन् ।


उनले दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय, घन्टेश्वर मावि अत्तरिया, सिद्धबाबा मावि गेटी लगायतका विद्यालयमा पुगेर परीक्षा व्यवस्थापनको अवस्था बारे जानकारी लिएका हुन् ।




नगरपालिकाका कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि फागुन २७ गतेदेखि सुरु भएको बोर्ड परीक्षा चैत्र ६ गतेसम्म सञ्चालन हुनेछ । यस परीक्षाका लागि नगरपालिकाले १३ परीक्षा केन्द्र तोकेको छ । कक्षा ८ को परीक्षामा नगरका ५९ विद्यालयका ३,२३१ विद्यार्थी सहभागी भएका छन् । कक्षा ५ को परीक्षामा पनि उल्लेख्य संख्यामा विद्यार्थीहरू सहभागी भएको नगर शिक्षा शाखाले जनाएको छ ।
नगर प्रमुख भट्टका अनुसार परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अभिभावक, विद्यालय प्रशासन र सुरक्षाकर्मी बीच समन्वय गरिएको छ । परीक्षाको मर्यादा कायम राख्नका लागि विशेष अनुगमन टोली खटाइएको छ । नगर शिक्षा शाखाले विद्यार्थीहरूलाई तनावमुक्त भएर आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै परीक्षाको सम्पूर्ण प्रक्रिया पारदर्शी बनाइने प्रतिबद्धता जनाएको छ।
“नगरपालिकाले परीक्षा व्यवस्थित, मर्यादित, र पारदर्शी बनाउन विशेष ध्यान दिएको छ । विद्यार्थीहरूलाई कुनै असुविधा हुन नदिन विद्यालय प्रशासन, अभिभावक र सुरक्षाकर्मी बीच समन्वय गरिएको छ,” नगर प्रमुख भट्टले भने । उनले विद्यार्थीहरूलाई तनावमुक्त भई परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

