नारी दिवसको अवसरमा चौकीडाँडा सामुदायिक वनद्वारा सांस्कृतिक कार्यक्रम

अत्तरिया- गोदावरी नगरपालिका–३ चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समूहले ११५ औं नारी दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बनकी सचिव रिया धामीको सभापतित्वमा आयोजित सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।

गोदावरी नगरपालिकाकी नगर उपप्रमुख शारदा देवी रोकायाले महिलाहरू शिक्षित भएमा परिवारका बालबच्चासमेत शिक्षित हुनेमा जोड दिएकी छन् । उनले महिलाहरूले आफ्ना हक अधिकार सुनिश्चित गर्न आवश्यक रहेको बताउँदै, हाल महिलाहरू विभिन्न संघसंस्थामा आबद्ध भई सक्रिय रूपमा अगाडि बढिरहेको उल्लेख गरिन् ।

उनले नारीहरू अब मात्र चुलोचौकामा सीमित नरही समाजका विविध क्षेत्रमा सक्रिय छन् । घरपरिवारको आर्थिक जिम्मेवारीमा महिलाहरूको भूमिका बढ्दै गइरहेको छ । जसका लागि उनीहरूलाई थप अवसर र सीपमूलक प्रशिक्षण आवश्यक छ, भनेर भनिन् ।

नगर उपप्रमुख रोकायाले महिलाहरूको वन संरक्षणमा रहेको योगदानको प्रशंसा गर्दै उनीहरूलाई थप अवसर प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइन् । साथै, सामाजिक कार्यहरूमा महिलाहरूको सक्रिय सहभागिता समाज परिवर्तनका लागि महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

महिला सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो । खेल प्रतियोगिताहरू अन्तर्गत महिलाहरूलाई सहभागी गराएर घैटो फुटाउने, अण्डा खाने, तथा स्याउ खाने खेलहरू सञ्चालन गरिएका थिए ।

यस्तै सांस्कृतिक कार्यक्रममा स्थानीयहरुले परम्परागत देउडा प्रस्तुत गरेका थिए, जसले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गरेको थियो । २०६२ सालमा स्थापित करिब ८/९ हेक्टरमा फैलिएको यस बनमा २ हजार उपभोक्ताहरू आबद्ध रहेका छन् । सांस्कृतिक कार्यक्रमको सञ्चालन सामुदायिक बन उपभोक्ता समुहका उपाध्यक्ष महेश बिष्टले गरेका थिए । 

Loading...