गेटा विश्वविद्यालय सञ्चालनका लागि सबै राजनीतिक दलहरू मिलेर दबाब दिनुपर्ने : सांसद पाठक

अत्तरिया-  सुदूरपश्चिम प्रदेशसभाका सांसद धर्मराज पाठकले गेटामा शहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनका लागि सबै राजनीतिक दलहरू मिलेर प्रधानमन्त्रीलाई दबाब दिनुपर्ने बताएका छन् । आज शनिवार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा बोल्दै सांसद पाठकले प्रधानमन्त्री केपी शर्मा ओली आइतबार धनगढी आउने अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

उनले प्रदेशका सबै सांसदहरूलाई साझा प्रतिबद्धता बनाएर प्रधानमन्त्रीलाई विश्वविद्यालय सञ्चालनका लागि बनेको विधेयक सङ्घीय संसद्‌मा पारित गर्न ध्यानाकर्षण गराउनुपर्ने बताए । सांसद पाठकका अनुसार कैलालीको गेटामा बनेका १६ अर्बका संरचनाहरू प्रयोगविहीन अवस्थामा छन् । २०७४ सालमा प्रधानमन्त्री ओलीकै सरकारबाट चार अर्बभन्दा बढी बजेट गेटा अस्पताल सञ्चालनका लागि विनियोजन गरिएको थियो । तर, आजसम्म ती संरचनाहरू उचित रूपमा प्रयोगमा आउन सकेका छैनन् ।

‘सुदूरपश्चिमका जनता लामो समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा र उच्च शिक्षाबाट वञ्चित छन् । गेटामा छिटोभन्दा छिटो विश्वविद्यालय सञ्चालन गर्न सबै सांसदहरूले एकै ठाउँमा उभिएर प्रधानमन्त्रीलाई दबाब दिनुपर्छ,’ पाठकले भने ।

सांसद पाठकले विश्वविद्यालय सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका छन् । उनले गेटा अस्पताल र विश्वविद्यालय सञ्चालनका लागि सबै दल मिलेर साझा धारणा बनाउनुपर्ने बताए ।

अब सबै दलहरूको सहमतिमा प्रधानमन्त्रीसमक्ष ठोस प्रस्ताव पेस गर्न सकिए मात्र गेटा विश्वविद्यालयको सपना पूरा हुन सक्ने सांसद पाठकको विश्वास छ ।

Loading...