

अत्तरिया- धनगढीको नवजीवन अस्पतालबाट एक वर्षको अवधिमा ४८ हजार नौ सय ५३ जना बिरामीले उपचार सेवा लिएका छन् । गत वर्षको फागुनदेखि यो वर्षको माघ मसान्तसम्म एक वर्षमा विभिन्न रोगका उक्त बिरामीले उपचार सेवा लिएका हुन् ।


अस्पतालको १९ औँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले बहिरङ्गबाट ३२ हजार एक सय ८८ जनाले, अन्तरङ्गबाट पाँच हजार छ सय ९७ र इमरजेन्सीबाट चार हजार ४९ जना बिरामीले सेवा लिएको बताए ।


उनले एक वर्षको अवधिमा एक हजार पाँच सय ३९ जनाले निःशुल्क सुत्केरी सेवा, दुई हजार नौ सय ६६ बालबालिकाले निःशुल्क खोप सेवा लिएका र अस्पताल भित्र तथा विभिन्न स्थानमा सञ्चालित स्वास्थ्य शिविर मार्फत दुई हजार पाँच सय १४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको बताए ।


अस्पतालले विभिन्न १७ वटा सेवा दिँदै आएको बताउँदै उनले अस्पतालमा २५ जना विशेषज्ञ सहितका चिकित्सकबाट सेवा दिइँदै आएको बताए । अध्यक्ष ढुङ्गानाले नेपाल सरकारबाट सञ्चालित आमा सुरक्षा कार्यक्रम, निःशुल्क खोप, निःशुल्क क्षयरोग औषधी वितरण र सामाजिक सुरक्षा कोष (स्वास्थ्य उपचार केन्द्र) का सेवाहरू प्रदान गरिँदै आएको बताए ।
२०६२ साल फागुन १७ गते धनगढीमा खुलेको निजी स्तरको नवजीवन अस्पताल २०७९ असोजबाट एक सय शय्या क्षमतामा सञ्चालित छ । अस्पतालले गत वर्ष देखि दस शय्याको डायलाइसिस सेवा समेत चलाएको छ । नवजीवन अस्पतालबाट सामाजिक सुरक्षामा आबद्ध सर्वसाधारणले आइपिडी र ओपिडीमा ८० प्रतिशत तथा दुर्घटना भएको अवस्थामा निःशुल्क उपचार पाउने भएका छन् । सामाजिक सुरक्षा कोषबाट नवजीवन अस्पताल सम्मानित समेत भएको थियो ।
अस्पतालले सामाजिक सुरक्षामा आबद्ध सबैभन्दा बढी बिरामीको उपचार गरेकाले सम्मानित भएको हो । सो कार्डबाट सामान्य बिरामीले २५ हजार र भर्ना भएको खण्डमा एक लाख सम्मको उपचार गर्न पाउने व्यवस्था रहेको छ । दुर्घटना भई उपचार गरेको खण्डमा सात लाख मूल्य सम्मको उपचार पाउने व्यवस्था रहेको छ । नवजीवन अस्पतालमा डिप्लोमा तहको नर्सिङ, सामान्य चिकित्सा र फार्मेसीको अध्यापन हुने गरेको छ।
अस्पतालले अहिले ६ वटा बेडबाट डाइलासिसको विपन्न सुविधा दिइरहेको नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर डा.बिदुरमणि ढकालले बताए । डाइलासिसको बिरामीको चाप बढी रहेकोले बेडको संख्या बढाएर १८ बेड सम्म पुगाउने तयारी गरिरहेको उनले बताए ।
विगतका दिनमा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम समेत लागु गरेको भए पनि अहिले आर्थिक अभावका कारण उक्त कार्यक्रम बन्द रहेको उनले बताए । वार्षिकोत्सवको अवसरमा अस्पतालले रक्तदान, बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै ट्राफिक प्रहरीलाई ३० वटा डिभाइडर हस्तान्तरण गरेको छ।

