

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुन बरामद भएको छ । बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका चारजना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन् ।


प्रहरीले उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।




उनीहरू विमानस्थलको भन्सार चेकजाँचबाट पास भइसकेका थिए । भन्सारबाट जाँचपास भइसकेका उनीहरूको गतिविधि शंकास्पद लागेपछि चेकजाँचका क्रममा नेपाल प्रहरीले टर्मिनल गेटबाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उज्बेकिस्तानका नागरिक Akhmadjanovna dilfuza marifalieve , Israilovna saodat fayzieva , Gulamdjanovan umida akhmedov र Sardor tursunov पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तीनजना महिला र एक पुरूष छन्। सुन महिलाको साथबाट बरामद भएको हो । एउटै समूहका भएकाले अनुसन्धानका लागि पुरूषलाई समेत पक्राउ गरिएको हो। एसएसपी राठोरका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
यसअघि पनि विमानस्थलको चेकिङबाट सुन बाहिरिने र बाहिरिएको सुन प्रहरीले बरामद गरेका घटना सार्वजनिक हुँदै आएका छन् ।

