

अत्तरिया- कैलालीको अत्तरियामा सिवाइसी स्पोर्ट लिग आयोजना गरिने भएको छ । फागुन १९ गते सोमबार देखि अत्तरियाको न्यू सृर्जनसिल युवा क्लब (सिवाइसी) को आयोजनामा स्पोर्ट लिग आयोजना गर्न लागिएको हो। सोमबार पत्रकार सम्मेलनको आयाेजना गरि लिग अन्तर क्रिकेट, फुटबल र भलिबल खेल खेलाइने जनाइएको छ ।


प्रतियोगितामा क्लब भित्रकै ८ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष नर बहादुर राईले बताए । उनले गोदावरी क्षेत्रका पर्यकटिय क्षेत्रका नाम समेटिने गरी ८ वटा टिम तयार गरिएको बताए ।




जस अन्तर्गत सिवाइसी गोदावरी धाम, सिवाइसी हाटखोली–गाजरी, सिवाइसी बुढितोला पोइन्ट, सिवाइसी लामिताल, सिवाइसी नायल ताल, सिवाइसी मछेली खोला र सिवाइसी भल्का धाम रहेका छन् । उनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने गरी टिमको नामाकरण गरिएको बताए ।
प्रतियोगितामा हरेक उमेर समूहका खेलाडीले सहभागी हुन पाउने छन् । हरेक टिममा कम्तीमा ४ जना भेट्रान समूहको अनिवार्य गरिएको अध्यक्ष राईले बताए । चौथो संस्करणको रूपमा केही खेल थप गरी लिगको आयोजना गरिएको क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले बताए । उनले प्रतियोगितामा सबै उमेर समूहका खेलाडी संयुक्त रूपमा खेलाइने भएकाले अनुभव आदानप्रदानमा पनि सहयोग पुग्ने बताए ।
खेल संयोजक रजत शाहीले प्रतियोगिता सम्पन्न गर्नको लागि खेलाडीको नाम टुङ्गो लगाइसकेको बताए । उनले क्लबमा आबद्ध भएका र गोदावरी क्षेत्रमा विभिन्न सामाजिक क्षेत्रमा जोडिएकाहरूलाई प्रतियोगितामा सहभागी गराइएको बताए । ‘सिवाइसी वार्षिक खेलकुद उत्सव’ का रूपमा आयोजना गरिएको प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता चैत १ गते सम्पन्न हुने छ । २०५४ सालमा स्थापना भएको सिवाइसी हालै धनगढीमा सम्पन्न अर्जुन ट्रफीको विजेता टिम पनि हो । यो क्लबले देशकै विभिन्न लिगहरूमा सहभागिता जनाउनुका साथै विभिन्न सामाजिक काम पनि गर्दै आएको छ ।

