धनगढीमा आजदेखि सीप मेला, १ हजार ४० युवाले तालिम लिँदै

धनगढी- कैलालीको धनगढीमा आजबाट सुरु हुने सीप तथा रोजगार मेलामा सुदूरपश्चिमका ९ जिल्लाका ३९ पालिकाका युवाले भाग लिने भएका छन् ।

धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोगमा धनगढीको खुलामञ्चमा तालिम आयोजना हुँदैछ । एक महिनासम्म चल्ने तालिमको बिहीवार सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

धनगढीमा बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाइ दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको उपमहानगरले जनाएको छ ।

४० दिनसम्म चल्ने तालिममा भाग लिन सुदूरपश्चिमका ९ जिल्लाको ४७ पालिकाबाट ४ हजार ८३० जनाले आवेदन दिएकामा ३९ पालिकाका १ हजार ४० जनालाई विभिन्न ८ क्षेत्रका २९ विषयमा तालिम दिइने छ ।

स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न लागेको नगरप्रमुख गोपाल हमालले बताए। उनले युवाहरूलाई विभिन्न सीप सिकाएर आकर्षक र राम्रो रोजगारीको अवसर पाउन भनेर विभिन्न २९ विषयमा तालिम दिन लागेको बताए ।

मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट २९ विषयमा तालिम दिइने छ । ३० दिन विभिन्न विधामा सीपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ ।

यस्तै, दुई दिन रोजगारदाता र तालिम प्राप्त युवाहरू बिच अन्तरक्रिया गर्नका लागि रोजगार मेला आयोजना गरिने छ। बिहीवार दिउँसो १ बजे सङ्घीय मन्त्री दामोदर भण्डारीले मेला उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

Loading...