

कैलालीको अत्तरियामा रहेको गोदावरी आविष्कार केन्द्रले विद्यार्थीहरूमा सिर्जनात्मक लेखन सीपको विकास गर्न तीन दिने कथा लेखन कार्यशालाको आयोजना गरेको छ ।




फागुन १ गतेदेखि सञ्चालित कार्यशालामा कथा लेखक विजयराज आचार्यले प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीहरूलाई सिर्जनात्मक लेखन, कथाको संरचना, चरित्र विकास तथा साहित्यिक अभिव्यक्तिको सीप सिकाएका थिए ।


शनिवार, गोदावरी आविष्कार केन्द्रका सचिव मदन राज भट्टको अध्यक्षतामा ‘कथा वाचन कार्यक्रम’ आयोजना गर्दै कार्यशाला समापन गरिएको थियो । होलिल्याण्ड माविकी प्रिन्सिपल लक्ष्मी चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनुका साथै ६ जना विद्यार्थीले आफ्ना कथा वाचन गरेका थिए ।
कार्यशालामा होलिल्याण्ड मावि, ज्ञानज्योती मावि, र मोहना मल्टेश्वरी एकेडेमीका २८ जना विद्यार्थीको सहभागिता रहेको आविष्कार केन्द्रका उपाध्यक्ष किरण भट्टले जानकारी दिए । समापन कार्यक्रममा क्याप्सन गोदावरीका अध्यक्ष मदन जोशी, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी लगायत विद्यार्थी अभिभावकको उपस्थिति रहेको थियो ।

