अत्तरिया- कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । धनगढीको फाप्ला मैदानमा सोमवार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।



उपाधि संगै अत्तरियाले नगद १० लाख सहित ट्रफी प्राप्त गरेको छ । डडेलधुराले नगद ५ लाखमा चित्त बुझाएको छ । सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो । फाइनलमा अत्तरियाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो ।



डडेलधुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए । डडेलधुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका शहाव आलम र दिपेश कडेलले ३/३ विकेट लिए । कमल गुप्ता र विवेक यादवले २/२ विकेट लिए । त्यस अघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए ।
त्यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०/२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए । डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए ।
त्यस्तै अजय चौहान र कुशल भुर्तेलले एक/एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए। अत्तरिया प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

