


धनगढी- नेकपा (एमाले) बाट कारबाहीमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका नेता डा. भीमबहादुर रावलले अब धनगढीलाई केन्द्र बनाएर आफ्नो अभियानलाई अघि बढाउने भएका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं एमालेका पूर्व उपाध्यक्ष रावल गृहजिल्ला अछामको बसाइँ सकेर धनगढी फर्किएका छन् । उनी हिजो बेलुका धनगढी पुगेको र अब यतैबाट अभियानका काम थालिने जनाइएको छ ।



माघ ५ गते मातृभूमि जागरण अभियान, नेपाल लिएर अछाम पुगेका उनी १५ दिनपछि धनगढी फर्किएका हुन् । उनी सो अवधिमा गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । केही समयदेखि सुदूरपश्चिम प्रदेशमा केन्द्रित रहेका रावलले आइतबार (हिजो) डडेल्धुरामा विभिन्न दलका नेताहरूलाई भेटघाट गरेका थिए। होटल राइनोमा उनले नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस (वीपी) का नेता तथा कार्यकर्ताहरूसँग छलफल गरेका थिए । भेटका क्रममा उनले आफ्नो अभियानमा साथ दिन आग्रह गरेको बताइएको छ ।


अछामबाट डडेल्धुरा हुँदै धनगढी प्रस्थान गरेका रावलले आफूले केही समय यहीँ बसेर अभियानलाई थप सशक्त बनाउने योजना सुनाएका थिए । धनगढीलाई आधार बनाएर बेलाबेला पहाडी जिल्लाहरूमा पनि सक्रिय रहने उनले बताएका छन् । रावलले झापाबाट सुरु गरेको मातृभूमि जागरण अभियानलाई हाल गृह प्रदेश सुदूरपश्चिममा तिब्रता दिएका छन् । उनी धनगढीमा रहेर आगामी योजनाहरू तय गर्ने र पहाडी तथा तराईका जिल्लाहरूमा आफ्नो अभियानलाई अझै व्यापक बनाउने तयारीमा छन् ।
उनको यो अभियानले सुदूरपश्चिमको राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय बनेको छ ।





