आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं- आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए ।

वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

वि.स. १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।

ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवन समेत गरी २ लाख ७ हजार २ सय ४८ संरचना भत्किएको थियो ।

त्यसैगरी वि.सं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६७० जनाको निधन भएको थियो भने सात लाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

Loading...