धनगढी- कैलालीमा लागूऔषध सहित चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–९ बाट गोदावरी नगरपालिका–८ बस्ने २० वर्षीय बिबेक चौधरी पक्राउ परेका हुन् ।
चौधरीलाई ३६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो ।
टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मी प्रासाद चौलागाई पक्राउ परेका छन् ।
दुबै जनालाई १४० मिलिग्राम खैरो हेरोइन सहित इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको छ ।
शंकरलाई टीकापुर नगरपालिका–३ रामपुर स्थित सडक छेउमा लागु औषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरिएको हो । शंकरको साथबाट १ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ ।