
अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।




नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले नगर भित्रका क्लबका पदाधीकारीहरुको उपस्थितिमा ३५ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाएको हो ।




कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्रीले बालबालिकाको हकहित संरक्षणका लागि सरोकारवालाहरु गम्भीर भएर लाग्नु पर्ने बर्तान् ।
उनले बालबालिका देशका कर्णाधार भएकोले उनीहरुको सुरक्षा गरि सत्मार्गमा डोर्याउन सबैले भुमीका खेल्नुपर्ने बताइन् । उनले बालमैत्री नगर घोषणा गर्ने उदेश्य सहित नगरपालिकाले बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताइन् ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी नगर उप प्रमुख शारदा देवी रोकायाले जोखिमयुत्त कामहरुमा बालबालिकाहरुलाई प्रयोग नर्गन आग्रह गरिन् । उनले बालबालिकाहरूको हक अधिकार संरक्षण गर्न नगरपालिका लागि परेको बताइन् ।
बालबालिकाहरू माथि विभिन्न प्रकारका घरेलु हिंसा देखि अन्य प्रकारका घटनाहरू हुने हुँदा न्युनिकरणका लागि सबै निकाय सक्रिय भएर लाग्नु पर्ने उनले बताइन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकार सम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागिता लगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।
यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनाको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका व्यवस्था छन् ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त अनुमोदन गरी यसको सिद्धान्त अनुसार प्रतिबद्धता जनाएको थियो ।

महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्था गरेको छ । सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था रहेका छन् ।
नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ । धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ । बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ ।
नेपालले उक्त महासन्धि कार्यान्वयन स्थितिको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार समितिले नेपालको विगतका प्रतिवेदनमा दिएका समापन टिप्पणी तथा सुझावलाई नेपालले कार्यान्वयन समेत गर्दै आएको छ ।
बालबालिकाको अधिकार तथा हक, हितको संरक्षण र सम्बद्र्धनका लागि विशिष्टीकृत निकायको रुपमा राष्ट्रिय बाल अधिकार परिषद् क्रियाशील रहेको छ ।
परिषद्ले आफूलाई प्राप्त कार्यदेशबमोजिम बालबालिकासम्बन्धी कानुन, नीति र योजना निर्माणमा सहयोग तथा सहजीकरण एवं बाल अधिकार संरक्षण र प्रवर्द्धनको सिलसिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा बाल अधिकार संरक्षण र प्रवर्द्धनका विषय सम्बोधनका लागि संस्थागत संयन्त्रको व्यवस्था छन् । यस क्रममा सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र लगायतसँग समन्वय र सहकार्य गर्दै आएको छ ।
नेपाल पक्षधर भएका संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, १९७५, बालश्रम सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठका महासन्धि लगायतका घोषणा बालबालिकासँग सम्बन्धित छन् ।
तथापि, संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ नै बालबालिकासम्बन्धी मूल दस्ताबेजको रुपमा रहेको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई अनुमोदन गरेपछि नेपालले बालबालिकाको हक, हित र अधिकारको विषयलाई संविधान, कानुन, नीति, आवधिक योजना, संस्थागत संरचना, वार्षिक नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दै आएको छ ।
नेपालले उक्त महासन्धिलाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन घोषणा गरेको थियो ।
सोही अनुरुप नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मुलुकभर मनाउँदै आइरहेको छ । ‘बालबालिकामा लगानि,सुनिश्चित भविष्यको थालनी’ नारासहित अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आयोजित उत्त कार्यक्रममा बालबालिकाहरुले विभिन्न सांस्कृति कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।
नगरस्तरीय बाल सञ्जालका अध्यक्ष दिलीप भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख रोकाया प्रमुख अतिथि रहेकी थिईन् । कार्यक्रममा गोदावरी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत बालबालिकाको उपस्थिति रहेको थियो ।