आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

कैलाली- घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान हो ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ ।

Navadurga sun

उत्तरी ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून भई तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने गरेको चराविद् डाक्टर हेमसागर बरालले बताए । अत्यधिक चिसोमा अनुकूलन हुन नसक्दा र आहारा कमीका कारण चिसो छल्न नेपाललगायत दक्षिण क्षेत्र तर्फ बसाइँसराइ गर्ने चराहरूको संख्या ठूलो रहेको उनले बताए ।

सेप्टेम्बरको अन्तिम साता देखि आगन्तुक चराहरू आउने गरेको नेपाल पक्षीविद् संघका अध्यक्ष हठन चौधरीले बताए । उनका अनुसार नेपालमा १५३ प्रजातिका आगन्तुक चराहरू आउने गर्छन्, यो क्रम डिसेम्बरसम्म चल्छ। जसमध्ये धेरैजसो हाँस प्रजातिका हुन्छन् । यहाँ आइपुगेका चरा फेरि अप्रिलमा आएकै ठाउँतिर फर्किन्छन् ।

पन्छी संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौराले यो बेला विभिन्न देशबाट हजारौँ किलोमिटर यात्रा पार गरेर ठूलो संघका आगन्तुक चराहरू आउने गरेको बताए । चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार संसारमा चराका नौवटा उडानमार्ग रहेका छन् । तीमध्ये नेपालमा दुई उडानमार्ग पर्छन् । अधिकांश चराहरू मध्य एसिया उडानमार्ग हुँदै घोडाघोडी पुग्ने गरेको उनले बताए ।

घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् । पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो ।

विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरी बताए। रामसारको प्रावधानअनुसार विश्वका आठमध्ये दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् ।

हरिहाँस, बगाले सिम कुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको उनले बताए । विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइने गरेको उनले बताए ।

यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिका रूपमा छन्। चौधरीका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, राज लाहाचे, राज धनेसलगायत प्रजातिका चराहरू पनि यहाँ बसोबास गर्छन् । चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । रासस

ADD Khali jpg
Loading...