अत्तरिया- राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडीले पत्रकार सुरेश भुलको हत्या प्रति देखिएको सामाजिक, राजनीतिक मौनता अत्यन्तै रहस्यमयी भएको बताएका छन् ।
भुल हत्या प्रकरणको स्थलगत अध्ययन गर्न केन्द्रीय टोली सहित कैलाली आइपुगेका पहाडीले पत्रकार सम्मेलन गर्दै घटना रहस्यमयी भएको बताएका हुन ।
‘हामी घटनाको स्थलगत अध्ययन गर्न घटना स्थल पुगेपछि प्रत्यक्ष दर्शी हरुलाई भेट्यौ, पीडित परिवार र बाख्रा धनी बिस्ना भुलका परिवारलाई पनि भेट्यौ ।
घटनाको प्रकृति हेर्दा कुनै कोणबाट पनि बाख्रा चोरी आरोप कै कारणले यो घटेको देखिँदैन । त्यसलाई केवल एक बाहान मात्र बनाएको देखिन्छ । यो घटनामा स्थानीय जनप्रतिनिधि नै मौन रहनुले घटना रहस्यमयी छ भन्ने हामीले बुझेका छौ’ उनले भने ।
घटना सँग सुरदेखि नै जोडिएको प्रहरीले घटनाको संवेदनशीलतामा लापरबाही गरेकोप्रति उनले दुःख व्यक्त गरे । स्थानीय तहमा भइरहेका भ्रष्टाचार, बेतिथिमा निगरानी र सूचना माग गरेकै कारणले सामान्य विवादमा बाहिरी समूह आक्रमण गरेर भुलको हत्या गरिएको उनको भनाई छ ।
पहाडीले भने, यो घटनामा इलाका प्रहरी कार्यालय मसुरियाको चरम लापरबाही देखिएको छ । घटना स्थलमा खटेको प्रहरीले घटनाको संवेदनशीलतामा देखाएको व्यवहार अमानवीय छ ।’