धनगढी- नेपाली कांग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेकाले त्यसको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको नै भएको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस कञ्चनपुरले दोधराचाँदनीमा आयोजना गरेको १०० दिने अभियान अन्तरगतको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य वडले अतिबादी र पपुलिज्महरु दुबैबाट लोकतन्त्र माथि खतरा हुनसक्ने भएकोले त्यसको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको भएको बताए ।
संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थालेको छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । सोहि अनुसार नेपाली कांग्रेसका केन्द्रिय सदस्य वड कञ्चनपुर खटिएका छन ।
देशभर बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो । अभियान सुरु भएको केही दिनमै रोकिएकाले चाडपर्व सकिएकाले पुनः अभियान थालेको हो ।