जोगबुडापारिको बस्ती पातलिँदै

कञ्चनपुर- पूर्वमा जोगबुडा नदी पश्चिमपट्टि भारत उत्तर प्रदेशको पिलिभित जिल्लाको बोदीपुर गाउँ । खेतको साँध भारतसँगै जोडिएको छ । एकान्त कुनामा रहेको यो ठाउँ दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने जोगबुडा नदी किनारको १८ नम्बर बस्ती हो ।

त्यहाँ ७ परिवारको मात्रै बसोबास छ । केही वर्षअघिसम्म यो बस्ती पूर्ण रूपमा भारततर्फै निर्भर थियो । यहाँका बासिन्दा किनमेलदेखि औषधि उपचारका लागि भारतकै भर पर्थे । बारीमा उत्पादन भएको साग, तरकारी पनि भारतीय बजारमै बिक्री गर्थे ।

Navadurga sun

अहिले बस्तीको अवस्था फेरिएको छ । जोगबुडा नदीमा झोलुंगे पुल निर्माणपछि किनमेलदेखि औषधि उपचार र कृषिजन्य उत्पादन बेच्न दोधारा चाँदनीमै तथा महेन्द्रनगर बजारसम्म पुग्न थालेका छन् । ‘तरकारी झोलुंगे पुलबाटै लैजान्छौं । धान, गहुँ नदीमा पानी घटेपछि हिउँदमा मात्रै लैजान सकिन्छ,’ १८ नं. बस्तीका दिलबहादुर राना क्षेत्रीले भने, ‘यसपटक जोगबुडाले कटान गरेर बस्ती नै जोखिममा छ ।’ असार अन्तिम साताको भीषण वर्षापछि आएको बाढीले उक्त क्षेत्रको झोलुंगे पुलसमेत जोखिममा परेको छ ।

विभिन्न संघसंस्था र वडा कार्यालयको सहयोगमा कटान रोकथामका लागि अस्थायी तटबन्ध निर्माण गरिए पनि यस पटकको जस्तै बाढी आए पुलसँगै बस्तीसमेत बगाउने जोखिम रहेको स्थानीय बताउँछन् । यहाँ धान, गहुँ र उखुसँगै बेमौसमी तरकारी खेती पनि गरिन्छ । अहिले मुला, भान्टालगायत तरकारी दोधारा चाँदनीका मुख्य बजार बाबाथान र चाँदनीमा बिक्री भइरहेको छ । बढी उत्पादन भएका बेला महेन्द्रनगरसम्म पुर्‍याउने गरेको क्षेत्रीले बताए ।

यहाँका युवा रोजगारीका लागि भारत पसेका छन् । उनीहरू दिल्ली, गुजरात र मुम्बई लगायतका ठाउँमा रोजगारी गर्छन् ।

यहाँ रहेका १७ युवामध्ये एकरदुई जना मात्रै गाउँमै खेतीपाती गर्छन् । अन्य घरमा भने महिला र वृद्धवृद्धाले खेतीपाती गर्छन् । यसैका भरमा उनीहरूले घरव्यवहार चलाएका छन् ।

बस्तीमा दुई दशकअघिसम्म करिब ४० परिवारको बसोबास थियो । जोगबुडा नदीले धार परिवर्तन गर्दै जमिन कटान गर्न थालेपछि स्थानीय विस्थापित हुन थालेका हुन् । उनीहरू जोबगुडा पारि पुगेका छन् । ‘खोलाले जमिन काट्दै गएपछि परिवार घट्दै गए, अब हामी थोरै मात्रै वारि रह्यौं,’ स्थानीय मायादेवी सुनारले भनिन्, ‘धेरै परिवार नदी पारि गइहाले, अचेल उतै बस्न थालेका छन् ।’

ADD Khali jpg
Loading...