अत्तरिया- कैलालीको धनगढीमा श्रमदान गर्न बेलायती नागरिक आएका छन। धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गर्न आएका हुन ।


धनगढी उपमहानगरपालिका– १८ एफ गाउँमा निर्माण भइरहेको भोकेसनल स्कुलमा बेलायती नागरिक हेजल ग्रेसको नेतृत्वमा पाँच दिनका लागि १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका छन ।

कात्तिक ४ गतेदेखि श्रमदानमा जुटेका बेलायती नागरिकले ८ गतेसम्म श्रमदान गर्ने छन् । बेलायती संस्था सपोर्टिङ नेपाल्स चिल्ड्रेनको आर्थिक अनुदानमा नेपाल युथ फाउन्डेसनमार्फत तीन करोड ४३ लाख बराबरको लागतमा उपमहानगरपालिकाको साझेदारीमा भोकेसनल स्कुलको निर्माण कार्य भइरहेको छ ।
श्रमदान टोलीको नेतृत्व गरेका बेलायती नागरिक ग्रेसले आर्थिक अनुदानसँगै केही दिन श्रमदान गर्दा संस्थाप्रतिको अपनत्वमा वृद्धि हुने बताए । नेपाली नागरिकलाई सीप सिकेर स्वदेशमै रोजगारमुखी बनून् भन्ने सन्देश दिनसमेत आफूहरूले श्रमदान गर्न लागेको उनले बताए ।
