अत्तरिया- नेपाली काँग्रेसका युवा नेता लोक राज पाण्डेय ‘आगो’ ले राष्ट्रिय सरसफाई अभियानलाई निरन्तरता दिएका छन् । बुधबार अत्तरियामा सार्वजनिक शौचालय सरसफाई गरेका छन् । स्थानीय युवाहरूको सहयोगमा ‘आगो’ ले अत्तरियाको पूर्व रोडमा रहेको सार्वजनिक शौचालय सरसफाई गरेका हुन् ।
युवा नेता आगोले असोज ९ गते जन्मदिनको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरको सार्वजनिक शौचालय सरसफाई गरेर सञ्चालन गरेका थिए । अभियान अन्र्तगत हालसम्म काठमाडौं बसपार्कको शौचालय, अत्तरिया बसपार्क शौचालय सरसफाई गरेका छन् । आगोले हप्ताको हरेक बुधबार सरसफाई अभियानलाई निरन्तरता दिँदै आइरहेका छन ।

सरसफाइ अभियान अन्तरगत शौचालयका कर्मचारीलाई बाल्टिन, ब्रस, जग, हर्पिक, सोडा, ओडोनिल लगायतका सामग्री समेत हस्तान्तरण गरेका हुन् ।
उनले अभियानमा विभिन्न क्षेत्रबाट व्यक्तिहरू जोडिदै आइरहेको बताए । जन्मदिनको अवसरमा सुरु गरेको यो अभियानलाई देशव्यापी बनाउने उद्देश्यले अगाडि बढिरहेको बताए । मुख्यतया अभियानमा बढी भन्दा बढी विद्यार्थीलाई जोड्ने हाम्रो अभियान रहेको उनको भनाई रहेको छ । उनले विद्यालयमा अभियान गर्दा बालबालिका पनि सचेत हुने भएकाले अभियान विद्यालयमा गर्दा प्रभावकारी हुने बताए ।
गोदावरी नगरपालिका वडा नं १ का सदस्य चेतराज पन्तले सरसफाई अभियान एकदमै सहर्नीय रहेको बताए । ‘सरसफाई नै हाम्रो जीवन हो । अभियानमा वडा तथा आफ्नो व्यक्तिगत तर्फ बाट सक्दो सहयोग गर्नुपर्दछ’, उनले भने ।
यस्तै स्थानीय सान परियारले सामाजिक सेवामा समर्पित युवा नेता लोक राज पाण्डेय ‘आगो’ ले गरेको सरसफाई अभियानलाई सम्मान गर्दै उक्त सरसफाई अभियानमा आफू पनि जोडिएको बताए । अभियानको सुरुवात देखि नै जोडिए सँगै अभियानमा मैले मात्र नभई सम्पूर्ण युवाहरूले साथ दिन आवश्यक रहेको बताए ।
चौकीडाँडा खानेपानीका अध्यक्ष विजय विकले राष्ट्रिय सरसफाई अभियानमा जोडिन पाउँदा एकदमै खुसी व्यक्त गर्दै टिमलाई धन्यवाद व्यक्त गरे ।
उनले यस सरसफाई अभियानमा विभिन्न क्षेत्रबाट व्यक्तिहरू जागरुक भएर लाग्न आवश्यक रहेको बताए । साथै उनले किसानहरूको वाली नष्ट साथै बढी दुर्घटना हुँदै आइरहेका हाम्रो क्षेत्रमा छाडा पशु चौपायाहरुको लागी पनि यस्तै खालको अभियान ल्याउन आवश्यक रहेको बताए ।
