कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बिचमै विद्यालय छाड्ने विद्यार्थीको संख्या शून्य छ। विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुगाएको हो ।
आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफू सँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजाँदा पढाइ प्रभावित हुँदै आएको थियो ।

विद्यालयको दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवल बहादुर ठगुन्नाले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेको बताए । उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउन प्रतिविद्यार्थी १५ का दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ ।
त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए । विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबार खिर, सोमबार दालभात, मङ्गलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, विहीबार खिचडी र शुक्रवार फलफूल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ ।
विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए ।
खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुँडा खरिद सँगै भान्सेको मासिक तलब सात हजार व्यहोरिदै आएको छ । यो सँगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् ।
गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यान्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर (फ्रीज) समेत खरिद गरेर सञ्चालनमा ल्याइएको छ ।
दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन/तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरूलाई कार्यान्वयनमा लैजाने गरिन्छ ।
दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाएर कार्यान्वयन गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए। २०७७ सालमा तर्जुमा गरिएको दिवा खाजा कार्यक्रमको प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने रकम हालको महंगीमा नपुग्ने भएकाले यसमा बढोत्तरी गर्नुपर्ने विद्यालयका शिक्षकहरुले बताएका छन् । विद्यालयमा दिवा खाजा कार्यक्रम सँगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ ।
नगर क्षेत्रका सामुदायिक विद्यालयमध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए ।
विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन संयन्त्रण निर्माण गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए ।
‘अनुगमन संयन्त्रले विद्यालयमा दिवा खाजाको अबस्था, ‘मेनु’ अनुसार खाजा खुवाए नखुवाएको, भान्सा सरसफाइको अबस्था लगायतबारे जानकारी लिने छ’ उनले भने, ‘मापदण्ड विपरित खाजा खुवाइएको पाइए सम्बन्धित विद्यालयलाई सचेत गर्ने र सचेत गर्दा समेत नटेरेमा नियम अनुसार कारवाही हुने छ ।’ दिवा खाजाका लागि प्रति विद्यार्थी १५ का दरले वर्षमा जम्मा एक सय ८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ ।
दिवा खाजामा प्रोटिन, चिल्लो पदार्थ, आयोडिन, जिङक, भिटामीन ए लगायत समावेश गरिएको हुनुपर्छ । प्रतिविद्यार्थीलाई दिवा खाजा एक सय ५० देखि दुई सय ग्रामसम्म उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।
नगरपालिकामा ६५ बालविकास केन्दमा दुई हजार पाँच सय १८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार पाँच सय २० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकाभित्र ३२ सामुदायिक विद्यालय छन् । रासस
