धनगढी- स्वतन्त्र विद्यार्थी युनियन केएमसीले ‘स्टार्टअप आइडिया प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ । विद्यार्थीलाई उद्यम व्यापार र स्वरोजगारसँग जोड्नका लागि उक्त प्रतियोगिता गरिने भएको हो ।
उद्यम, व्यापार, कृषि, पर्यटन र विज्ञान लगायतका जुनसुकै विषय र क्षेत्रसँग सम्बन्धित रहेर पनि प्रतियोगितामा सहभागी हुन सकिने कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले बताएका छन् । आफूले तयार पारेको योजना उपलब्ध साधन स्रोतबाट सम्भव छ या छैन । त्यसको आधारसहित प्रस्तुत गर्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष जोशीले भने, ‘प्रत्येक व्यक्तिमा केही न केही सम्भावना हुने र उक्त सम्भावनालाई अरू समक्ष कसरी प्रस्तुत गर्ने र व्यक्ति भित्रका विचार दृष्टिकोण र भिजनलाई प्रयोग गरी समाज र राष्ट्रलाई योगदान हुने गरी यो प्रतियोगिता आयोजना गर्न लागेका छौँ ।’ प्रतियोगितामा एकल योजना पनि बनाउन सकिनेछ भने बढीमा चार जनाको समूह बनाउन पाइनेछ ।
एकल योजना वा दुई जनाको समूहमा दुवै जना स्नातक वा स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनु पर्नेछ र तीन जना भन्दा बढीको समूहमा दुई जना अनिवार्य स्नातक र स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ ।
