धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले ८३ प्रतिशत बजेट खर्च गरेको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्ष ८२ दशमलव ८३ प्रतिशत बजेट खर्च गरेको हो ।



उपमहानगरपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ९५ करोड चार लाख २१ हजार दुई सय १८ रुपैयाँ मध्ये एक अर्ब ६१ करोड ५५ लाख ७३ हजार सात सय २४ रुपैयाँ खर्च भएको छ । पूँजीगततर्फ ७९ करोड ६८ लाख ३९ हजार ४३१ रुपैयाँमध्ये ६१ करोड सात लाख ९१ हजार १२८ रुपैयाँ खर्च भएको छ ।


उपमहानगरपालिकाले विकास बजेटको ७६ दशमलव ६५ प्रतिशत गत आर्थिक वर्षमा खर्च गरेको हो । चालुतर्फ एक अर्ब १५ करोड ३५ लाख ८१ हजार सात सय ८७ रुपैयाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब ४७ लाख ८२ हजार पाँच सय ९६ रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक वर्ष चालु बजेटको ८७ दशमलव १ प्रतिशत खर्च भएको छ । उपमहानगरपालिकाले विकास बजेट खर्चको प्रतिशत बढाउँदै लगेको पाइएको छ ।





