कञ्चनपुर- चार साथी ४ वर्षसम्म सँगै स्नातक पढे । सँगसँगै जागिरको सपना देखे । अनि त्यही सपना पूरा गर्न कठोर संघर्ष र मेहनत गरे । अन्ततः उनीहरू आफ्नो लक्ष्यमा सफल पनि भए । सुदूरपश्चिममा सँगै क्याम्पस पढेका ४ दौँतरीले शिक्षक सेवा आयोगमा पनि एकसाथ नाम निकालेका हुन् ।


कञ्चनपुरका अम्बादत्त पन्त, बैतडीका गोविन्दबहादुर धामी, दार्चुलाका माधवराज पन्त र बैतडीकी विमला कुमारी भट्ट सुदूरपश्चिमबाट माध्यमिक तह विज्ञान विषयको शिक्षकका लागि सिफारिस भए । उनीहरूलाई अहिले बधाई थाप्न भ्याईनभ्याई छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ साइन्स क्याम्पसबाट २०७५ सालमा उनीहरूले बीएस्सी उत्तीर्ण गरेका थिए ।


कलेजमा सँगै पढेका मात्रै होइनन्, शिक्षक सेवामा प्रवेशका लागि उनीहरूले प्रतिस्पर्धा पनि सँगसँगै गरे । कैयौँ प्रतिस्पर्धीलाई उछिन्दै चार ‘क्लास मेट’ सँगै शिक्षक सेवा प्रवेश गर्दा अहिले उनीहरू चर्चामा छन् ।
बैतडीको पुर्चौडी नगरपालिका–८ डणपुरका गोविन्द बहादुर धामीले प्राथमिक तहसम्मको शिक्षा गाउँमै लिए । केदार आधारभूत विद्यालयबाट कक्षा ५ पास गरेका उनले पुर्चौडी–१० महरा गाउँको गलेश्वर माध्यमिक विद्यालयबाट एसएलसी गरे । ०७१ सालमा कञ्चनपुरको झलारीस्थित कृष्ण माध्यमिक विद्यालयबाट ‘प्लस टु’ सकाए । मध्यम वर्गीय परिवारका उनले कक्षा १२ सकिँदादेखि नै शिक्षण गर्न थालिसकेका थिए ।
६ वर्षदेखि शिक्षण पेसामा रहेका गोविन्दले गाउँकै गलेश्वर माध्यमिक विद्यालयमा ३ वर्ष पढाए । अहिले उनी डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयमा पढाउँछन् । गोविन्द ०७१ सालमा सिद्धनाथ विज्ञान क्याम्पसमा स्नातक तहमा भर्ना भए । र, त्यहीँ भेटिए, अम्बादत्त, माधवराज र विमला । एउटै कक्षामा पढ्ने उनीहरू साथी हुन् ।
‘कोठाभाडा जोहो गर्न भए पनि पार्टटाइम शिक्षण गर्नुपर्ने बाध्यता थियो,’ गोविन्द भन्छन्, ‘शिक्षण गरे पनि पढाइ छाडिएन । निरन्तर अभ्यास गरियो, निरन्तरको मेहनतले यो सफलता मिलेको छ ।’ गोविन्दले यस अघि दुई पटक शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गरेका थिए । पहिलो प्रयासमा पहिलो पत्रमा मात्रै उत्तीर्ण भए । दोस्रो प्रयासमा दोस्रो पत्रमा सफल भए । तर उनले हार मानेनन् । निरन्तरता दिइरहे। तेस्रो प्रयासमा भने गोविन्द शिक्षक सेवा आयोगमा सफल भए ।

बैतडी मेलौलीकी विमलाकुमारी भट्ट अन्तर्वार्तामा सामेल हुँदा आफूसहित अन्य तीन साथी सफल हुनेमा विश्वस्त थिइन् । नतिजा सार्वजनिक हुँदा ठ्याक्कै त्यस्तै हुँदा उनमा खुसीको सीमा छैन । ‘हामीले अन्तर्वार्ता दिँदा एकअर्कालाई प्रतिस्पर्धीजस्ता मानेनौँ । उत्साहित गर्न सहयोग गरिनै रह्यौँ । जो भए पनि हामीबीचबाट भए हुन्थ्यो सोचेका थियौँ,’ उनले भनिन्, ‘४ जना साथी सिफारिसमा परेको यो ठूलो खुसी क्षण हो ।’
अध्यापन सँगसँगै उनले शिक्षक सेवाको तयारी गरिरहिन् । विभिन्न निजी विद्यालयमा पढाएको अनुभव बटुलेकी उनी हाल कैलालीको गोदावरी नगरपालिका–१२ को दुर्गा माध्यमिक विद्यालयमा पढाइरहेकी छन् । घरपरिवारको माहोलले शिक्षण पेसातर्फ आकर्षित गरेको विमला बताउँछिन् । ‘दाइहरू शिक्षक थिए । त्यसैले मलाई यसतर्फ झुकाव बढ्यो । प्राइभेट स्कुलहरूमा पढाउँदा पढाउँदै शिक्षकमै स्थायित्वका लागि लागेँ,’ उनले भनिन् ।
गत वर्ष दिएको शिक्षक सेवा आयोगको परीक्षामा विमला अन्तर्वार्तामा रोकिएकी थिइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ समैजी माध्यमिक विद्यालयबाट विमलाले ०६८ मा एसएलसी पास गरेकी थिइन् । त्यसपछि उनले कृष्ण उच्च माध्यमिक विद्यालय गुलरियाबाट ‘प्लस टु’ गरिन् ।
एमएससी होस् वा बीएस्सी, विज्ञान पढाउने शिक्षकलाई विद्यालयमा प्रायः ‘बीएस्सी सर’ भनिन्छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका अम्बादत्त पन्तलाई पनि यसको छाप थियो । पन्तको परिवार कृषिमा आश्रित छ । आर्थिक अवस्था बलियो थिएन। परिवारको जेठो छोरा हुनाले जिम्मेवारी उनकै काँधमा थियो । अध्यापन गर्दै अम्बादत्तले पढाइ खर्च जोहो गरे । उनी कालागौडीकै शिवशक्ति माध्यमिक विद्यालयमा ६ वर्षदेखि पढाइरहेका थिए ।
‘बीएस्सी सरको छापले नै शिक्षण पेसामा डोहोर्यायो । विद्यालय, कलेज पढ्दा साथीहरूले नबुझेको कुरा राम्रोसँग बुझाउन सक्थेँ,’ उनले भने, ‘त्यसैले शिक्षक बन्ने रहर थियो । घरमै अध्यापनसँगै तयारी गरेँ ।’ दार्चुलाको लेकम गाउँपालिका–१ पुर्ख्यौली घर भएका माधवराज पन्त पनि अध्यापन सँगसँगै स्थायी जागिरेका लागि तयारीमा थिए । उनले केही वर्ष बझाङमा पनि पढाए । पछिल्लो समय उनी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ को शंकर पार्वती माविमा पढाइरहेका थिए ।
‘कलेजमा साथीहरूसँग सेयर गरेर पढ्थ्यौँ । नोट कापी साटासाट हुन्थ्यो । पछि कार्यक्षेत्र छुट्टा ट्टै हुँदा पनि कहिलेकाहीँ फोनबाट तयारीका विषयमा कुराकानी भइरहन्थ्यो,’ माधवले भने, ‘हामी साह्रै मेहनती थियौँ । त्यही मेहनतले सफलता मिलेको हो ।’ माधवले लेकम गाउँपालिका–१ मा रहेको बडिपुर माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि ‘प्लस टु’ गोकुलेश्वरको सेटी गाउँ उच्च माध्यमिक विद्यालयबाट पूरा गरे ।
शिक्षक सेवा आयोगले सुदूरपश्चिम प्रदेशमा विज्ञान विषयका लागि खुलातर्फ तोकेका ६ सिटमध्ये तीनमा सँगै पढेका अम्बादत्त पहिलो नम्बर, गोविन्द तेस्रो नम्बर र माधव चौथो नम्बरमा सिफारिस हुन सफल भए । यस्तै समावेशीअन्तर्गत महिलाका लागि तोकिएका दुई कोटामध्ये विमलाले पहिलो नम्बरमा नाम निकालेकी हुन्। समय व्यवस्थापन गरेर निरन्तर अध्ययन गरेमा सफलता हासिल गर्न सकिने विमला बताउँछिन् ।
‘बेसिक लेबलबाटै तयारी गर्नुपर्यो । आफूसँग भएको समय व्यवस्थापन गरेर पढनुपर्यो,’ उनी भन्छिन्, ‘धेरै किताब नहेरेर एकरदुई किताबबाट अध्ययन गर्दा फाइदाजनक हुन्छ। अनलाइन प्लेटफर्मको सदुपयोग गर्न सकिन्छ ।’