बैतडी । बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनिषा घटालको मंगलबार साँझ मृत्यु भएको हो । घरमै सुत्केरी भएकी घटालले सोमबार मृत बच्चालाई जन्म दिएकी थिइन् । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताए ।



रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ । वर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध भएकाले स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले बताएका छन् ।


गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ । मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ।





