शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नियुक्ति प्रक्रियाप्रति स्वास्थ्यकर्मीहरूको असन्तुष्टि


अत्तरिया- कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय को पदाधिकारी नियुक्ति प्रक्रियाप्रति स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ११ वटा संघ–संस्थाले असहमति जनाएका छन्। स्वास्थ्य विज्ञान विश्वविद्यालय भए पनि स्वास्थ्य क्षेत्रका विज्ञ तथा प्रतिनिधिलाई बेवास्ता गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।


नेपाल चिकित्सक संघ को नेतृत्वमा विभिन्न स्वास्थ्यसम्बद्ध संस्थाका प्रतिनिधिहरूले बुधबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत विश्वविद्यालय सभा, पदपूर्ति समिति लगायतका निकायमा स्वास्थ्य क्षेत्रका व्यक्तिहरूलाई समावेश गर्न माग गरिएको छ।



हाल विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया चलिरहेको छ। तर चिकित्सक संघसहितका संस्थाहरूले उक्त प्रक्रिया तत्काल रोक्न र स्वास्थ्य क्षेत्रका विज्ञको नेतृत्वमा पदपूर्ति समिति गठन गरी पुनः प्रक्रिया सुरु गर्न माग गरेका छन्।
उनीहरूले उपकुलपतिको योग्यताका लागि तोकिएको शैक्षिक मापदण्डप्रति पनि असहमति जनाएका छन्। एमसीएच, एमएच र पीएचडीको सट्टा एमडी, एमएस र एमडीएसलाई नै योग्यता मान्नुपर्ने उनीहरूको माग छ। स्वास्थ्य क्षेत्रमा पीएचडी अध्ययन–अध्यापनको अभ्यास न्यून रहेको र एमडी/एमएस/एमडीएसलाई नै उच्च तहको विशेषज्ञ उपाधि मानिने भएकाले हालको व्यवस्था सच्याउनुपर्ने उनीहरूको भनाइ छ।
स्वास्थ्य मन्त्रालयलाई समेत बेवास्ता गर्दै शिक्षा मन्त्रालयलाई मात्र प्रमुख भूमिका दिइएको आरोप लगाउँदै स्वास्थ्यकर्मी संगठनहरूले आफ्ना माग सम्बोधन नभए देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।