कैलालीमा अब किराना सामानको अनिवार्य मूल्य सूची राख्नुपर्ने

धनगढी- कैलालीमा अब किराना सामानको अनिवार्य रुपमा मूल्य सूची राख्नुपर्ने भएको छ । जुनसुकै किराना पसलले पनि अनिवार्य रुपमा मूल्य सूची राखेर मात्र कारोबार गर्न कैलाली उद्योग वाणिज्य संघले निर्णय नै गरेको छ ।

चाडपर्वको समयमा कुनै पनि सेवाग्राही मूल्यका कारण अलमलमा पर्ने काम नहोस् भनेर अनिवार्य मूल्य सूची राख्न भन्दै संघले यसका लागि सूचना नै जारी गरेको छ ।

यसका साथै कुनै पनि वस्तुको कृतम अभाव सिर्जना हुने गरी कुनै पनि प्रचार नगर्न समेत उद्योग वाणिज्य संघ कैलालीले सचेत गराएको छ । व्यवसाय गर्दा सरकारी निकायमा दर्ता प्रमाणपत्र अनिवार्य रुपमा देखाएर राख्न पनि सबैमा आग्रह गरिएको छ ।

दर्ता नभएका व्यवसायीलाई फुटपाथमा व्यवसाय गर्न नमिल्ने, चाडपर्वको समयमा कुनै पनि सांस्कृतिक कार्यक्रम गर्दा ट्राफिकलाई व्यवस्थापन हुने गरी गर्ने र आफ्नो व्यवसायको फोहर आफैले व्यवस्थापन गर्नुपर्ने समेत कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले जारी गरेको सूचनामा उल्लेख छ ।

उल्लेखित नियमहरूको कहिँकतैबाट उलंघन भए त्यसको जवाफ संलग्न व्यवसायीले नै दिनुपर्ने समेत सूचनामा भनिएको छ । विभिन्न सरकारी निकायसँग गरिएको छलफलपछि चाडपर्वलाई लक्षित गरेर यस्तो सूचना उद्योग वाणिज्य संघ कैलालीले जारी गरेको हो ।

Loading...