अत्तरिया- भीमदत्त राजमार्गसंगै जोडिएको कैलालीको बुढीतोलामा रहेको लक्ष्मी माध्यामिक सामुदायिक विद्यालय । यस स्कूलमा प्राविधिक विद्यालय सञ्चालनका लागि सम्भावना भएको क्षेत्र हो । गोदावरी पुलबाट १६ किलोमिटर टाँढा रहेको छ। गोदावरी नगरपालिका–४ अन्तरगतको यस विद्यालयमा पछिल्लो समय पूर्वाधारहरु पनि निर्माण भएका छन् ।


विद्यालयलाई प्राविधिक विषय सहितको प्लस टू सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिको लक्ष्य रहेको छ । विद्यालयमा प्राविधिकतर्फ कृषि, जेटिए लगायतका विषयका लागि सरकारले सहयोग गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोका मगरले बताए ।


‘गोदावरी नगरका लागि प्राविधिक विद्यालय सञ्चालनका लागि बुढीतोला सम्भावना भएको क्षेत्र हो’, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मगरले भने । ‘चुरे क्षेत्रमा रहेकोे हुँदा यो माटो कृषि, पशुपालनका लागि उत्तम छ । यहाँका अधिकांसले बाख्रा पालन गरेका छन् । प्राविधिक विद्यालय सञ्चालनका लागि स्थानीय सरकार अभिभाक सबैको सहयोग आवश्यक छ ।’ बुढाीतोला अझ पछिल्लो समय कालिज पालनका लागि समेत चर्चित बनेको छ ।
यस्तो ठाउँमा प्राविधिक विद्यालय सञ्चालन हुन सकेमा यहाँका धेरै नागरिकहरुलाई राहत हुने उनको अनुभव छ । ‘धेरै कुरा तराईमा मात्र हुँदा सबै विद्यार्थीहरु वाहिर पलायन हुन्छन्’, उनले भने । ‘त्यसलाई रोक्न पनि सरकारले यसमा सोच्नुपर्दछ ।’ अर्को कुरा कतिपय अभिभाकको आर्थिक स्थिति राम्रो नहुँदा प्राविधिक विषय पढाउन नसकेको पनि धेरै रहेको उनको भनाई रहेकोछ । मगर शुक्रबार मात्र विद्यालय व्यवस्थापन समिति (विविस) को अध्यक्षमा निर्वाचित भएका हुन् । उनी अहिले तेस्रो पटक अध्यक्ष भएका हुन् ।

२०७५ सालमा पहिलो पटक विविस अध्यक्ष हुँदा विद्यालयमा भवनको अभाव भएको अनुभव सुनाउँदै मगरले अहिले ३ वटा थप नयाँ पक्की संरचना निर्माण भएको बताए । ‘विद्यालयमा विविस अध्यक्ष भएपछि पुस्तकालय र कम्प्युटर ल्याभ सहितको ३ वटा भवन निर्माण भएका छन्’, उनले भने । ‘टाढा–टाढाबाट घर भएका विद्यार्थीहरुलाई बसको समेत व्यवस्था गर्न सफल भएका छौँ ।’ उनले आफु विद्यालय आएपछि नियमित शिक्षक अभिभाक संघ र विद्यालय व्यवस्थापन समितिको नियमित बैठक समेत बोलाउने गरेको बताए ।
यस विद्यालयलाई नगरमो नमुना विद्यालय बनाउने आफ्नो लक्ष्य रहेको विविस अध्यक्ष मगरले बताए । अव विद्यालयको क्षेत्राधिकार भएको जग्गामा घेरबार सहितको गेट निर्माण गर्ने आफ्नो योजना रहेको उनले उल्लेख गरे ।
लक्ष्मी माध्यामिक विद्यालयमा हाल चुरे गाउँपालिका वडा नम्बर ५ गोदावरी नगरपालिका वडा नम्बर ४ चुरेका रिङने, बासपानी, लगायत टाढा–टाढा बाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउन्छन् । प्रधानाध्यापक लक्ष्मणसिंह कठायतले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा छात्रावास (होस्टेल) सञ्चालनका लागि भवन आवश्यक रहेको बताए ।
विद्यालयले शिक्षास्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन देखि टियुसन, कोचिङ कक्षा समेत लिने गरेको प्रधानाध्यापक कठायतले बताए । ‘पहाडी क्षेत्र भएको हुँदा यहाँका विद्यार्थीहरु पढ्नमा भन्दा बढी काममा ध्यान केन्द्रित भएका हुन्छन् । तर, पनि एसइईमा तराईका कतिपय विद्यालय भन्दा परिणाम राम्रो देखिन्छ ।’ गोदावरी नगरकै कति विद्यालय यस बर्षको एसइई परीक्षामा निल भएका थिए । अभिभाकहरु जिम्मेवार बन्न सकेमा विद्यालयका शैक्षिक गुणस्तरमा अझ सुधार गर्न सक्ने प्रधानाध्यापक कठायतको भनाई रहेको छ ।
२०३९ सालमा स्थापना भएको विद्यालय अहिले छात्र र छात्रा गरी ३ सय ४६ विद्यार्थीहरु अध्ययनत रहेका छन् । विद्यालयमा अहिले स्थायी एक, नगर ४, राहत ४ र अनुदान ३ जना गरी १२ जना शिक्षक रहेका छन् । विद्यालयसंग १ सय ६० रोपनी जमिन रहेको छ ।