अत्तरिया- ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्ष सचेतनामूलक कार्यक्रम गरि १८औं विश्व रेबिज रोग विरुद्धको दिवस मनाइएको छ । त्यसैक्रममा कैलालीको गोदावरी नगरपालिकाले पनि आज रेबिज विरुद्धको दिवस मनाएको हाे।


दिवसको अवसरमा नगरपालिकाको पशु सेवा शाखाले बिहान अत्तरिया बजारमा र्याली निकालेको थियो । र्यालीपछि एक दिने निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको छ ।



खोप कार्यक्रम गोदावरी नगरपालिका–३ को वडा कार्यालयमा सञ्चालन गरिएको हाे । खोप कार्यक्रम बिहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन गरिएको नगरपालिकाको पशु शाखाका प्राविधिक टेक शाहुले बताए । रेबिज रोकथाम र यस रोग विरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ ।
यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।
पशु सेवा विभागले रेबिज दिवसमा विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । स्थानीय तहहरूले असोज ६ देखि १२ गते सम्मलाई सप्ताह व्यापी रुपमा रेबिज विरुद्धको सचेतना फैलाउने कार्यक्रमहरू समेत गरेका थिए ।