डोटी- धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको के.आइ.सिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ ।



आयोजना कार्यालय र निर्माण कम्पनीबिच साउन २२ गते भएको सम्झौता बमोजिम कालोपत्रे गर्ने कामको ठेक्का प्राप्त गरेको निर्माण कम्पनीले सडकको डबल कटिङ, रुख कटानी, पर्खाल लगाउनेलगायतका कामको सुरुवात गरिरहेको छ ।



दिपायलबाट धनगढीको लागि द्रुतमार्गका रुपमा लिइएको यो सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि काम सुरु भए सँगै यस क्षेत्रका नागरिकले समयमा नै सडक निर्माण कार्य सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन् ।
‘लामो समयपछि सडक निर्माण कार्यले पूर्णता पाउनेमा आशा पलाएको छ’ डोटीको के.आई.सिंह गाउँपालिका –६ का नरेन्द्र बलायरले भने, ‘लामो समयसम्म यो सडक सुरुवात नहुने अवस्था देखे पछि हामी निराश भएका थियौं । आजभोलि तिब्र गतिमा डबल कटिङ लगायतका कामहरु भइरहेको देख्दा समयमा नै सडक कालोपत्रे हुने बिश्वास पलाएको छ ।’
विपिनगर डोटीस्थित स्थापना भएको धनगढी खुटिया बिपिनगर दिपायल चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दिनेश रैखोलाका अनुसार सलेना राजपुर सडक खण्ड कालोपत्रे गर्ने कामका लागि भ्याटसहित ४४ करोड १ लाख ९३ हजार ४ सय ८९ रुपियाँ अनुमानित लागत रहेको छ ।
हालको सम्झौताअनुसार तीन बर्ष अर्थात २०८४ साउन २२ गतेभित्र सो सडक खण्डमा कालोपत्रेको काम सम्पन्न गर्नुपर्ने छ । डोटी बिकासको मेरुदण्डको रुपमा हेरिएको दिपायल धनगढी द्रुतमार्ग अन्तर्गत डोटीको दिपायलदेखि धनगढीसम्मको दूरी ९६ किलोमिटर रहेको छ । हाल दिपायलबाट धनगढी पुग्न एकसय ९० किलोमिटर दूरी यात्रा गर्नुपर्ने हुन्छ ।




