बैतडी- संविधान दिवसकाे अवसरमा बैतडीमा ब्याडमिन्टन प्रतियोगिताकाे आयाेजना गरिएको छ । असाेज ३ गते परेकाे संविधान दिवसकाे पुर्वसन्ध्यामा आजदेखि खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता शुरू भएकाे बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हलमा सञ्चालन भएकाे प्रतियोगितामा ३१ टाेलीकाे सहभागिता रहेकाे छ ।



तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा बैतडी, दार्चुला, डडेल्धुराका साथै भारतीय टाेलीकाे पनि सहभागीता रहेकाे प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।संविधान दिवस जिल्ला मूल समाराेह समितिकाे आयाेजनामा शुरू भएकाे प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद,मेडल र प्रमाणपत्र, दाेस्राे हुनेले १० हजार नगर,मेडल र प्रमाणपत्र,तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने टाेलीलाई ५/५ हजार नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।


संविधान दिवसलाई भव्यताका साथ मनाउनका लागि ब्याडमिन्टन प्रतियोगिताका साथै सरसफाई कार्यक्रम, दीपावली,प्रभातफेरी र काेणसभाकाे पनि आयाेजना गरिएको छ ।

बुधबार प्रत्येक सरकारी कार्यालय सरसफाइ गर्ने र बुधबारदेखि शुक्रबारसम्म प्रत्येक दिन साँझ सरकारी कार्यालय र घरघरमा दीपावली गर्ने कार्यक्रम रहेकाे छ ।
बिहीबार बिहान सदरमुकाममा प्रभातफेरी कार्यक्रमपश्चात् प्रशासन कार्यालय अगाडि सहिद दशरथचन्दकाे सालिकनजिक काेणसभाकाे आयाेजना गरिएकाे संविधान दिवस जिल्ला मूल समाराेह समितिका संयाेजक तथा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए ।
काेणसभापश्चात जगन्नाथ बहुउद्देश्यीय हलमा ब्याडमिन्टन प्रतियाेगिता समापनका साथै हल निर्माण गर्न सहयाेग गर्नेहरूलाई सम्मानकाे कार्यक्रम रहेकाे छ।
शुक्रबार यहाँका प्रसिद्ध जगन्नाथ मन्दिर र त्रिपुरासुन्दरी मन्दिर सरसफाइका साथै पुजाआजा गरिने संविधान दिवस जिल्ला मूल समाराेह समितिले जनाएको छ ।




