सुदूरपश्चिम प्रदेशमा बुढी पोल्ने पर्व मनाइदै

अत्तरिया- सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा यो पर्व धुमधामका साथ मनाइदै आएको छ ।

राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको दिनको सम्झनामा भाद्र संक्रन्तिका दिनमा लिंगो ठढाई बारिएको बन्ढुनी अर्थात् बुढीलाई असोज संक्रान्तिका बेलुकी, राती पोलेर बन्ढुनी पर्व मनाईने गरिन्छ । यहाँका सबै गाउवस्तिहरुमा यस दिन बुढी पोलेपछि देउडा खेल खेल्ने परम्परा रहिआएको छ ।

Navadurga sun

यस पर्वमा गाई बस्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझको लिङगो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान श्री कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मिक विश्वास छ ।

बुढी पोल्ने दिन गाई वस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको सल्लाको दियालोले राँको बनाएर राख्ने गर्दछन् । बेलुकी पख गाईबाच्छिी पाल, बुढी निकाल, थुई बुढी थुई भन्दै काक्र मुखमा हालि फाल्दै जलाउने चलन छ । बुढी पोल्नुअघि कासको गौरा बनाई गोबर थुपारिएको माथि राखिन्छ । बारीमा भएका फलफूलका प्रत्येक रुखहरुमा कासको लुडी बनाई राख्ने चलन पनि छ । यसो गर्दा फलफूलका रुखहरु नसुक्ने र राम्रो फल लाग्ने जनविश्वास रहिआएको छ ।

दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास छ । यसै पर्वका अवसरमा डडेल्धुराका विभिन्न स्थानमा सांस्कृति कार्यक्रमको आयोजनसमेत गरिँदै आएको छ । सदियौँदेखि धार्मिक, तथा सांस्कृतिक महत्व बोकेको बन्ढुनी पर्व हरेक वर्षको असोज १ गतेका दिन मनाइने गरिन्छ ।

कतैकतै बुढी जलाइसकेपछि वारीपारी गाउँका एक आपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको छ । बन्ढुनी पर्व मनाउन स्थानीयहरुले बिहानैदेखि नुवाई, धुवाई गर्ने गर्छन् । असोज १ गतेदेखि नै शरदऋतुको आगमन भएको मानिन्छ । बुढी पोली सकेपछि राती वा भोली पल्ट बिहान सम्म पानी परे गाई अर्थात लक्ष्मीले जित्ने र पानी नपरे बुढीले जित्ने भन्ने भनाइ पनि रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...