अत्तरिया- नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको दावी गरेका छन् । एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा शनिबार ईञ्चार्ज भट्टले यस्तो दावी गरेका हुन ।




‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो । तर उहाँ तलतल आउनुभयो । जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो’ ईञ्चार्ज भट्टले भने । रावल हरेक पटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरुको गुट बनाउदै हिडेका छन । भीम रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छ । शुक्रबार मात्रै टीकापुरमा रहेका रावललाई त्यहाँका एमाले र एकीकृत समाजवादीका नेताहरुले नयाँ पार्टी खोल्न दबाब दिएको खबरहरु सार्वजनिक भएका छन ।







‘जुन जिल्लामा गएपनि उनको गुटको भेला हुने, नेता कार्यकर्ताहरुलाई भडकाउने कार्यहरु भएका छन । उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ । तल तल आएर गतिबिधि गर्न थालेपनि पार्टी विग्रीन थालेको छ’ ईञ्चार्ज भट्टले भने ।
उनले पार्टीले ‘मीसन ८४’ भन्ने नारा ल्याएपनि पार्टीभीत्रको आन्तरिक एकता यस्तै रह्यो भने उक्त मीशन सफल नहुने बताए । ‘पार्टीले मीसन ८४ को नारा ल्याएको छ । यो भनेको आउदो ८४ को निर्वाचनमा संघ, प्रदेश र स्वाथीय तहमा एमालेको बहुमतको सरकार बनाउनु हो, तर सुदूरपश्चिममा पार्टीको आन्तरिक एकतामा सुधार भएन भने मीसन ८४ सफल पार्न सकिदैन’ नेता भट्टले भने ।’
सल्लाहकार परिषदले पार्टीभीत्रको अन्तरविरोध पहिचान गर्ने, पार्टीभीत्रका गुटहरु कुनै का पक्षमा पनि नलागेर स्वतन्त्र रुपमा त्यसको समाधान गरी आन्तरिक एकता बढाउने कार्य गर्नुपर्ने नेता भट्टको भनाई थियो । उनले अहिले नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने प्रवृत्ति बढेको बताए ।
‘नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने, पार्टी र संगठन बनाउन जनता माझ नजानेहरुको बोलबाला पार्टीभीत्र बढीरहेको छ । नेतृत्वले आफ्नो नजिकको मान्छे, आफ्नो मान्छे नभनेर एमालेको मान्छे भनेर मुल्यांकन गर्नुपर्छ’ नेता भट्टले भने ।




