खतरा तह पार गरेको कर्णाली नदीको बहाव घट्दै

धनगढी- खतरा तह पार गरेको कर्णाली नदीको बहाव घट्न थालेको छ । दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जल मापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिए । उनका अनुसार ११.१५ मिटर जलसतह पुगेर अब घट्न थालेको हो ।

अहिले पनि पानीको सतह खतरा तहभन्दा माथि १०.९८ मिटर नै रहे पनि अब घट्दो क्रममा छ । “कर्णाली नदीमा पानीको बहाव चाँडै घट्छ”, उनले भने । यो नदीको चिसापानी जलमापन केन्द्रमा १०.८० मिटर जलसतह खतराको तह मानिन्छ । कर्णालीको बहावले खतराको तह पार गरेपछि त्यसले प्रभाव पार्ने बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि सतर्क पारिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मोहना, कान्द्रा, पथरैया, कटैनी, घुरहा, खुटिया नदीमा जलसतह सर्तकता तह भन्दा तल रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसै बिच, अविरल वर्षापछि आएको बाढीका कारण विभिन्न ठाउँमा डुबान भएको छ । बाढीका कारण जिल्लाभरी ९९ घरधुरीका ४४४ व्यक्ति प्रभावित भएका छन् ।

प्रभावित मध्ये ३४ परिवारका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । हावा सहितको वर्षाले विभिन्न ठाउँमा रूख ढल्नुका साथै विद्युत् पोल भाँच्चिएको छ ।

त्यस्तै कैलालीमा तीन वटा कच्ची घरमा क्षति भएको छ । नदीले पाँच बिघा जमिन कटान गरेको जनाइएको छ। वर्षाको क्रममा चोटपटक लागेर एक पुरुष र एक महिला गरी दुई जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Loading...